२९ जेष्ठ २०८३, शुक्रबार

तेस्रो सुपर ओभरमा नेदरल्याण्ड्ससँग नेपाल पराजित

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

स्कटल्याण्डको टिटउट रङ्गशालामा सम्पन्न खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । खेलको निर्धारित २० ओभरको खेल टाई भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको हो ।

पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन बनाएको थियो ।

त्यसैगरी, दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रन जोडयो र खेल फेरी तेस्रोपटक सुपर ओभरमा पुग्यो ।

तेस्रो सुपर ओभरमा भने नेपालले रन जोड्न सकेन । पहिलो बलमा कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए । एक रनको लक्ष्य पाएको नेदरल्याण्ड्सले पहिलो बलमा छक्का प्रहार गरेर जितेतको हो ।

त्यसअघि निर्धारित २० ओभरको खेलमा एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाए ।

त्यस्तै, कुशल भुर्तेलले ३४ तथा रुपेश सिंहले १९ रन जोडे । नेपालले जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक थियो । तर नन्दन यादवले काइल क्लेनका बलमा चौका प्रहार गरेपछि खेल टाई भएको थियो ।

नेदरल्याण्ड्सका डानियल डोरामले तीन विकेट लिए भने विक्रमजित सिंहले दुई विकेट लिए ।

त्यस्तै, काइल क्लेइन, बेन फ्लेचर र जाँच लायनले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाएका हुन् ।

त्यस्तै, विक्रमजित सिंहले ३० रन बनाए । उनले २९ बलमा दुई छक्काको सहयोगमा ३० रन बनाएका हुन् । सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भुर्तेल र ललित राजवंशीले समान एक/एक विकेट हात पारे । यस सिरिजअन्तर्गत आइतबार भएको पहिलो खेलमा भने नेदरल्याण्ड्स स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो ।