४ असार २०८३, बिहिबार

बजेटका कारण कांग्रेस र एमालेबीचको सहकार्यमा असर पर्दैनः अर्थमन्त्री पौडेल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई लिएर नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सहकार्यमा असर नपर्ने बताएका छन् ।

आगामी आवको बजेटबारे प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेक्रममा अर्थमन्त्री पौडेलले बजेटलाई देखाएर एमाले र कांग्रेसबीच दूरी बढाउने प्रयास भइरहेको बताउँदै त्यसले द्विदलीय साझेदारीमा फरक नपर्ने उल्लेख गरे ।

“कांग्रेस र एमालेका बीचमा कहीँकतै दूरी सिर्जना गरेर खेल्न सकिन्छ कि भनेर प्रयास भइरहेका छन् । त्यो व्यर्थको प्रयास नगर्न म आग्रह गर्न चाहन्छु । एमालेले कांग्रेसको जस्तो बजेट ल्याएको र कांग्रेसले एमालेको जस्तो बजेट ल्याएको भनेर दुई दलबीच दूरी सिर्जना गर्न प्रयास गरेको देखिन्छ”, अर्थमन्त्री पौडेलले भने, “त्यो व्यर्थको प्रयास छोडिदिए हुन्छ । त्यो ऊर्जा र समय अरु कुनै रचनात्मक काममा लगाउँदा हुन्छ । बजेटभित्र छिरेर कांग्रेस र एमालेका बीच फुट ल्याउने प्रयास नगर्दा हुन्छ ।”

सरकारले संसद्मा पेस गरेको वार्षिक आय र व्ययको अनुमानमाथि उठेको प्रश्नको जवाफ दिनेक्रममा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र बिग्रनुमा अहिलेको नभई पूर्ववर्ती सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । अघिल्लो सरकारले लिएका खराब नीतिलाई वर्तमान सरकारले निरन्तरता दिन नसक्ने उनले बताए ।

चालु आवको बजेटमार्फत सरकारले करका सिद्धान्तभन्दा विपरीत रहेको अग्रिम आयकरको व्यवस्था हटाएको अर्थमन्त्री पौडेलले बताए । आम्दानी नगर्दै आयकर लगाउने विगतको अभ्यासलाई सच्च्याइएको उनले जानकारी दिएका छन् । सम्पत्ति शुद्धीकरण निवारणमा वित्तीय कारबाही कार्यदलको‘ग्रेलिष्ट’मा पर्नुको कारण पूर्ववर्ती सरकार भएको आरोप अर्थमन्त्री पौडेलले लगाए ।

“ देशलाई ग्रेलिस्टबाट बाहिर निकाल्नुपर्ने छ । त्यसका लागि रणनीति, कार्ययोजना बनेका छन्”, उनले भने । सघन निगरानी सूचीबाट चाँडै बाहिर निस्कन र भविष्यमा यस्तो अवस्था आउन नदिन रणनीति बनाएर अघि बढ्ने गरी बजेट ल्याएको उनले बताए । सम्पत्ति शुद्धीकरण निवारणको मामिलामा अनुसन्धान र अभियोजनका काम कमजोर हुँदा ग्रेलिस्टमा परेकामा अब त्यसलाई प्रभावकारी बनाइने अर्थमन्त्रीले स्पष्ट पारे ।

आगामी आवको बजेटको स्रोत र खर्चको अनुमान कार्यान्वयन हुने प्रकृतिको रहेको, बजेटको आकार यथार्थपरक रहेको बताउँदै अर्थमन्त्रीले स्रोतको व्यवस्थापन हुन सकेन भने बजेट कार्यान्वयन हुन सक्दैन भने । उहाँले आय र व्यय दुवैको अनुमान यथार्थपरक भएको भएको बताए ।