
काठमाडौं, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।
गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेका रास्वपाका कार्यवाहक सभापतिले सभामुखको सरकारी निवास बालुवाटार पुगेर सभामुख घिमिरेसँग छलफल गरेका हुन्।
भेटमा अर्यालले रास्वपालाई बोल्न नदिइएकोमा आपत्ति जनाएका थिए । जवाफमा सभामुखले सहमतिकै लागि लामो समय संसद नचलाइएको बताउँदै संसद चलाउनुको विकल्प नभएको बताएका थिए ।
‘त्यही भएर दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ । तर, अब रोक्ने अवस्था छैन। संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ । राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्छ । तपाईंहरूले आफ्नो आन्दोलनको स्वरुप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरू सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौं,’ सभामुख घिमरेको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए।
रास्वपाले माग पूरा नभएसम्म संसद चल्न नसक्ने जवाफ दोहोर्याएको छ ।








प्रतिक्रिया