१५ असार २०८३, सोमबार

मानपुरमा पानीको हाहाकार : कुवाको भरमा ८० घरपरिवार

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-कृष्ण पौडेल

कपिलवस्तु, १ असार । तीव्र गर्मी र असामान्य सुख्खाले कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ७ मानपुर गाउँ अहिले चरम पानी संकटको चपेटामा परेको छ। गाउँका करिब ८० घरपरिवार दैनिक पिउने पानीको खोजीमा दिनहुँ संघर्षरत छन्।

सामान्यतया १४ देखि १५ फिट मुनिसम्म पाइने भूमिगत पानी यस वर्षको गर्मीले पूर्ण रूपमा सुक्दा गाउँका करिब ५० वटा धाराहरू बन्द भएका छन्। गाउँका नल र धारा सुक्दै जाँदा स्थानीयहरू कुवाको अपुरो, असुरक्षित र अशुद्ध पानीमा निर्भर बन्न पुगेका हुन्।

स्थानीय रमेश यादवले आफ्नो पीडा सुनाउँदै भने, “हामीले कहिल्यै सोचेका थिएनौँ कि पानीको अभाव यस्तो भयावह पनि हुन सक्छ। बिहानैदेखि पानीका लागि बालबालिका र वृद्धहरू कुवाको लाइनमा उभिन्छन्। यो अवस्था निकै पीडादायक छ।”

त्यस्तै, अर्का बासिन्दा शिव मंगल केवटको चिन्ता अझै गहिरो छ। “कुवाको पानी हाम्रो एक मात्र विकल्प बनेको छ, तर त्यो पनि सफा छैन। पानी पिउनैपर्ने तर त्यही पानीबाट रोग लाग्न सक्ने डर पनि उत्तिकै छ,” उनी भन्छन्।

पानीको अभावले केवल प्यास मात्र होइन, सरसफाइमा पनि गम्भीर असर पारेको छ। स्थानीय स्वास्थ्य संस्थाहरूले सरुवा रोगको जोखिम बढेको चेतावनी दिएका छन्। शौचालय र नुहाउन समेत पानीको समेत हाहाकार छ।

यस्तो संकटकालीन अवस्थामा स्थानीय सरकारका प्रतिनिधिहरू समाधानको बाटो खोज्दै छन्। वडा अध्यक्ष दिनेश कुमार चौधरी भन्छन्, “हामीले समस्या गम्भीर रूपमा लिएका छौं। भोलिदेखि वैकल्पिक माध्यमबाट पानी आपूर्ति सुरु गर्ने तयारी भइसकेको छ। साथै दीर्घकालीन समाधानका लागि भूगर्भीय स्रोतको अध्ययन गर्दै टिकाउ प्रणाली निर्माण गर्नेतर्फ पनि कदम चालिएको चौधरीको भनाई छ ।