१५ असार २०८३, सोमबार

एक दशकदेखि साङ्लोमा बाँधिएका पविन्द्रको उद्धार

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, १ असार । उपचारको अभावमा झन्डै एक दशकदेखि साङ्लोमा बाँधिएका उदयपुरको चौदण्डीगढी नगरपालिका–३ भोर्लेनीका पविन्द्र मगरको उद्धार गरिएको छ ।

दश वर्षअघि सामान्य मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका पविन्द्रलाई एक्कासी बिरामले छोप्यो अनेक धामीझाँक्री गर्दा समेत उनलाई सुधार नभएपछि विगत एक दशकदेखि घरमै साङ्लोमा बाँधेर उनलाई राखिएको थियो ।

चार दाजुभाई मध्येका साइला उनको हेरचाह अहिले बुढी आमा एकमाया मगरले गर्दै आएकी छन् । उमेरले नातिनातिना र छोराबुहारीको सहारा खोज्ने बेलामा एकमायाको दैनिकी भने साङ्लोमा बाँधिएर बसेको छोराको स्याहारसुसार मै बित्दै आएको छ । एकमाया गहभरी आँसु पार्दै भन्छिन्– गत माघसम्म त पविन्द्रको बुवा पनि हुनुहुन्थ्यो तर बुबाको यही गएको माघमा अचानक स्वर्गारोहण भएपछि अहिले साङ्लोमा बाँधिएको छोराको सबै स्याहारसुसार एक्लैले गर्दै आउनु परेको छ ।

दिनभरि घरको काम गाईगोठ, चुलाचौका गरेर बेलुकाको गर्जो टार्नुपर्ने एकमायाको दैनिक मानसिक अवस्था विक्षिप्त भएका छोराको स्याहारसुसारमा बित्ने गरेको छ । झन्डै दश वर्ष अघि एक्कासी पविन्द्रलाई धामी बस्ने व्यथा लागेको थियो । बिमारले च्यापेपछि दैनिक जसो उनी घरमा धामी बस्न थाले । घर परिवार छरछिमिकीले समेत उनलाई धामी उत्रन लागेको भन्दै मुल धामी झाँक्रीको सहायताले ठिक हुने बताए र दैनिक पविन्द्रलाई धामी झाँक्रीकोमा लैजाने गरियो तर पविन्द्रमा कुनै सुधार आएन ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ३ का वडा सदस्य समेत रहेका पविन्द्रका छिमेकी परशुराम राई पुरानो कुरा सम्झिन्छन् र भन्छन्, ‘पविन्द्रलाई धामी झाँक्रीको सहायताले ठिक नभएपछि डाक्टरको सल्लाहमा मानसिक रोगको औषधि समेत खुवाइयो तर उनमा कुनै सुधार आएन ।’ उनीमा कुनै सुधार नआएपछि पछिल्लो दश वर्षदेखि उनलाई साङ्लोमा बाँधेर राखिएको हो ।

मानसिक रोगले विक्षिप्त पविन्द्रलाई साङ्लोमा नराख्ने हो भने उनी घर छोडेर हिँड्ने र घर नै नफर्कने गर्ने गरेपछि उनलाई साङ्लोमा बाँधेर राखिएको आमा एकमायाको भनाई छ ।

पविन्द्र साङ्लोमा बाँधिएको खबर थाहा पाएपछि चौदण्डीगढी नगरपालिकाले उनलाई उद्धार गर्ने सोच बनायो र विराटनगरस्थित मानवसेवा आश्रमको समन्वयमा शनिबार पविन्द्रलाई नगरपालिकाले उद्धार गरेको हो ।

यसअघि पनि चौदण्डीगढी नगरपालिकाले वडा नम्बर २ मा झन्डै ९ वर्षदेखि खोरमा बन्दक रहेका शिवराज विश्वकर्माकोे उद्धार गरी उपचार गराएको थियो । उनी अहिले सामान्य जीवनयापन गरिरहेका छन् ।

चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामाले शिवराज जस्तै पविन्द्र समेत सामान्य जीवनमा फर्कने विश्वाससहित आफ्नो पहलमा उद्धार गरी मानवसेवा आश्रम पठाइएको बताए । नगरप्रमुख लामाले पविन्द्रको उद्धार गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको समेत बताए ।

केही समयको उपचार पश्चात पविन्द्रको जीवनमा परिवर्तन हुने विश्वास लिएको मानवसेवा आश्रम विराटनगरका नवराज केसीले बताए । केसीका अनुसार पविन्द्रलाई विराटनगरस्थित मानवसेवा आश्रममा राखेर मानसिक रोग विशेषज्ञ डाक्टरको निगरानीमा उपचार गरिनेछ ।

पछिल्लो समय चौदण्डीगढी नगरपालिकासहित उदयपुरको विभिन्न पालिकामा पुगेर मानवसेवा आश्रमले सडक मानवहरूको उद्धार र उपचार गर्दै आएको छ ।

मानवसेवा आश्रम विराटनगरले सडक मानवरहित नेपाल बनाउने संकल्पसहित आफ्नो कार्य गरिरहेको समेत केसीले जानकारी दिए ।