
काठमाडौं, ३१ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति नीति चाँडै मन्त्रिपरिषद्बाट पारित हुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल–जापान संस्कृति आदानप्रदान कार्यक्रम’मा बोल्दै मन्त्री पाण्डेले प्रस्तावित संस्कृति नीति छिट्टै पारित हुने बताएका हुन् । कार्यक्रममा उनले हरेक संस्कृतिले आफ्नै सभ्यता र पहिचान बोकेको हुने भन्दै नेपालको मौलिक संस्कृतिलाई अब अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्नुपर्ने आवश्यकता देखिएको जिकिर गरे ।
आयोजित ‘नेपाल–जापान संस्कृति आदानप्रदान कार्यक्रमले दुई देशिय सस्कृती आदानप्रदानमा ठूलो टेवा पुराउने बताउँदै उनले यसैगरी नीजि क्षेत्रले योगदान गर्दै जानुपर्नेमा जोड दिए । उनले भने, ‘संस्कृति कुनै पनि समाजको आत्मा हो । जसले मुलुकलाई जिवित राखेको हुन्छ ।’
उनले जापानको अनुशासित, मर्यादित र सुसंस्कृत जीवनशैलीको प्रशंसा गर्दै नेपालले त्यहाँबाट प्रेरणा लिन सक्ने धारणा व्यक्त गरे । उनले भने, ‘हामी जापानबाट सम्मानजनक सुसंस्कृति ग्रहण गर्न चाहन्छौँ र जापानी नागरिकहरूलाई नेपालको सांस्कृतिक विविधता नजिकबाट अनुभव गर्न हार्दिक पनि निमन्त्रणा दिन्छौँ ।’
मन्त्री पाण्डेले संस्कृति प्रवद्र्धन र संरक्षणमा सरकारको भूमिका नीतिगत स्तरमा केन्द्रित हुने बताउँदै त्यसको सफल कार्यान्वयनमा निजी क्षेत्रको योगदान अपरिहार्य रहेको पनि बताए ।
कार्यक्रममा जापानबाट आमन्त्रित कलाकारहरू, नेपाली सांस्कृतिक क्षेत्रका विज्ञ एवं कलाकार, निजी क्षेत्रका प्रतिनिधि तथा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया