
विराटनगर, ३० जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र चीनका राजदूत चेन सङबीच भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कार्की र राजदूत सङबीच भेटघाट भएको हो । भेटघाटको अवसरमा दुईपक्ष हितका विषयमा कुराकानी भएको थियो ।
भेटघाटमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले अहिले गरिरहेको कामका विषयमा प्रकाश पारेका थिए । कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्नका लागि पनि राजदूत सङलाई मुख्यमन्त्री कार्कीले आग्रह गरे । उनले किमाथांका–जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

राजदूत सङले कोशी प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताए । उनले कोशी प्रदेशको कृषि उत्पादन बजारीकरणका विषयमा चासो राखेका थिए । राजदूत सङले किमाथांका क्षेत्रमा आफ्नोतिर सबै निर्माण काम भएको तर नेपालतर्फ काम हुन नसकिरहेको विषयमा पनि चासो राखेका थिए ।
चीनतर्फको भागमा अहिले निर्माण कार्य सम्पन्न भइसकेको छ । नेपालतर्फको निर्माणमा ध्यान दिनुपर्ने कुरामा उनको जोड थियो ।
राजदूत सङ केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा छन् । उनले इलाम लगायत कोशी प्रदेशका विभिन्न क्षेत्रमा चीन सरकारले गरेको सहयोगका कार्यक्रमहरू निरीक्षण गरेका थिए ।









प्रतिक्रिया