२७ असार २०८३, शनिबार

खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग गाउँ र विद्यालय हुन् : राष्ट्रपति

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुदबीच निकट सम्बन्ध रहेको बताएका छन् ।

दशरथ रङ्गशालामा आज पन्ध्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले शिक्षाको ज्ञान, चेतना र बौद्धिकता एवं खेलकुदको अनुशासन, अभ्यास र उत्साहको गुणले भोलिका कर्णाधार नेपाली युवालाई सक्षम, सबल र योग्य बनाएर राष्ट्र निर्माणको पहरेदारका रुपमा उभ्याउन योगदान दिने बताएका हुन् ।

राष्ट्रपति पौडेलले बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासका लागि खेल जरुरी रहेको जनाउँदै यही कारणले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको स्पष्ट पारे । उनले खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय भएको बताउँदै भने, “यहीँबाट छानिएका उत्कृष्ट र योग्य बालबालिकाले राष्ट्रिय खेलाडीका रुपमा उभ्याउँदै अन्तरराष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो तय गर्छन् । त्यसैले स्थानीयस्तरमा पूर्वाधार, खेल सामग्री, दक्ष प्रशिक्षक र प्रतियोगताका अवसर बढाएर खेलप्रतिको आकर्षण बढाउनु पर्दछ ।”

राष्ट्रपति पौडेलले नेपालमा खेल पर्यटनको प्रशस्त सम्भावना रहेको जनाउँदै अनुपम भौगोलिक विशेषताअनुसारका साहसिक खेलप्रति विश्वजगत्को आकर्षणलाई मध्यनजर गरी यसबाटै देशको अर्थतन्त्रमा योगदान दिनेतर्फ राज्यले सोच्नुपर्ने भनाइ व्यक्त गरे ।

उनले नेपालका परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने र हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्नसक्ने स्पष्ट पारेका छन् ।

राष्ट्रपति पौडेलले मुलुकलाई विश्वसामु चिनाउने सजिलो माध्यम खेलकुद भएको जनाउँदै क्रिकेट, पारा ओलम्पिक, हकीलगायतका खेलमा अन्तरराष्ट्रियस्तरमा नेपालले पछिल्लो समयमा देखाएको उत्साहजनक सहभागिता र नतिजा मुलुकका लागि खुसीको विषय भएको बताए । राष्ट्रपतिले प्रत्येक वर्ष खेलका प्रतिस्पर्धा र गतिविधि बढ्दै गए पनि पूर्वाधार, अभ्यास, प्रशिक्षक, सुविधा र अन्तरराष्ट्रिय तालिमको अभाव चुनौती बनेको भन्दै यसका लागि देशभित्रै बढीभन्दा बढी पूर्वाधार, प्रतियोगिता र प्रशिक्षण बढाउनुपर्नेमा जोड दिए ।