
काठमाडौं, २८ जेठ । इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट (आईएमआर)ले अन्तर्राष्ट्रिय भर्ना एकीकृत प्रणाली (आइरिस)को प्रमाणपत्र पाएको छ ।
वैदेशिक रोजगारी क्षेत्रमा पारदर्शिता, न्यायोचित प्रक्रिया र श्रमिक अधिकारको संरक्षण सुनिश्चित गरेको भन्दै इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट (आईएमआर)ले सोमबार अन्तर्राष्ट्रिय भर्ना एकीकृत प्रणाली (आइरिस)को प्रमाणपत्र पाएको हो । योसँगै अन्तर्राष्ट्रियस्तरको प्रमाणपत्र पाउने आईएमआर नेपालको पहिलो म्यानपावर कम्पनी बनेको छ ।
आईएमआरले यो प्रमाणपत्रको दाबीका लागि डेढ वर्षअघि आवेदन दिएको थियो । यसको म्याद २१ मे २०२७ सम्म तोकिएको छ । आईएमआरले २०१८ देखि शून्य लागतमा कतार, संयुक्त अरब इमिरेट्स र मलेसियामा १८ हजार श्रमिक पठाएको छ । त्यसरी गएका श्रमिकको भर्ना प्रक्रियाको बेलायतमा रहेको ‘इन्टरनेसनल एसोसियट्स लिमिटेड’ले परीक्षण गरेको थियो ।
आइरिसका अनुसार हालसम्म यो प्रमाणपत्र पाउनेको संख्या संसारभरमै ५ वटा मात्रै म्यानपावर कम्पनी रहेको छ । जसमा सिंगापुर, पोल्यान्ड, नेपाल, केन्या, मेक्सिकोका एक–एकवटा म्यानपावर कम्पनीले आइरिस प्रमाणपत्र पाएका छन् ।
आईएमआरका प्रबन्धक निर्देशक वाइबी राईले सन् २०१८ देखि श्रमिक भर्नासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिबद्धताअनुसार भर्ना प्रक्रियालाई पूर्णरुपमा नैतिक बनाएको बताए । ‘जसको नतिजा स्वरुप हामी अन्तर्राष्ट्रिय रुपमा नैतिक म्यानपावर कम्पनीको रुपमा पहिचान पाउन सफल भयौं,’ उनले भने, ‘यसले नेपाली श्रमिकका लागि सुरक्षित र सम्मानजनक रोजगारीको बाटो खोलेको छ । नेपाली श्रमिकले बहुर्राष्ट्रिय कम्पनीमा रोजगार गर्न पाउने पहुँच विस्तार भएको छ ।’
उनले अन्तर्राष्ट्रिय श्रम संगठनका निष्पक्ष नियुक्तिसम्बन्धी सिद्धान्तहरू, मानव अधिकारका मापदण्डहरू र रोजगारदाताले भर्नासँग सम्बन्धित सम्पूर्ण शुल्क वहन गर्ने सिद्धान्तलाई म्यानपावरले पूर्ण रूपमा पालन गर्न थप जिम्मेवारी थपिएको बताए । ‘हामी भर्ना प्रक्रियामा हुने अनावश्यक शुल्क, ठगी, शोषण र दुरुपयोगबाट श्रमिकलाई जोगाउने प्रतिबद्धता गर्छौं,’ उनले भने ।















प्रतिक्रिया