
अमेरिका, २६ जेठ । नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को छैटौं वार्षिक साधारणसभामा नयाँ कार्यसमितिका लागि निर्वाचन प्रक्रिया सुरु भएको र आगामी तीन महिनाभित्र निर्माणाधीन संरचनाको कार्य पूरा गरेर मन्दिर र व्यावसायिक भवन सञ्चालनमा ल्याउन प्रयास भइरहेको जानकारी दिइएको छ ।
बोर्ड अफ ट्रष्टिका अध्यक्ष अरुण रुपाखेतीको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले यहाँ रहेका सबै आप्रवासी नेपाली समुदायसँग सहकार्य गरेर काम गर्ने बताए । उनले समुदायलाई साथमा लिएर गएमा अथवा न्याक जस्ता संस्थाले गरेका कार्यक्रम देखाएर नेपाल र नेपालीका बारेमा प्रष्ट पार्न सहज हुने बताए ।

राजदूत रेग्मीले कार्यक्रमपछि न्याकको परिसरमा निर्माणाधीन मन्दिर तथा व्यावसायिक भवनको अवलोकन पनि गरेका थिए । राजदूतावासको टोलीमा इकोनोमिक कन्सुलर युगराज पाण्डे लगायत सहभागी थिए ।
कार्यक्रममा कार्यसमितिका अध्यक्ष डा. मदन उप्रेती र कोषाध्यक्ष केशव बरालले निर्माणाधीन परियोजनाको आर्थिक विवरण सभामा पेश गरेका थिए ।
सभामा निर्माणाधीन परियोजना रकम थप गर्न नपरेमा र काउन्टीबाट समयमै प्रमाणीकरण भएमा अबको तीन महिनाभित्र सम्पन्न हुने जानकारी दिइएको थियो । मन्दिरमा प्राण प्रतिष्ठा गरेर प्रतिस्थापन गरिने भगवानका शीला मूर्तिहरु नेपालमा तयार हुँदैछन ।
त्यस्तै, नेपाली शैलीका टुँडालहरु पनि नेपालमै तयार भइरहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
यसैगरी, न्याकको आगामी कार्यकालको लागि कार्यसमितिको निर्वाचन सम्पन्न गर्न यो साधारणसभाले प्रक्रियाको थालनी गरेको पनि जानकारी गराएको थियो । यसका लागि निर्वाचन आयोग बनाइँदैछ । आयोगले तुरुन्तै काम सुरु गर्नेछ ।
कार्यक्रममा न्याकका खेल संयोजक चन्द्र लामाले खेलकुदमा संलग्न खेलाडीको परिचय र खेलमा विजयी खेलाडीलाई पदक तथा ट्रफी वितरण कार्यक्रम सञ्चालन गरेका थिए । खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र प्रमुख अतिथि राजदूत रेग्मीले प्रदान गरेका थिए ।
यसैगरी, न्याकका उपाध्यक्ष विना खड्का लामाले बालबालिकाहरुको नृत्य प्रस्तुतीको संयोजन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन न्याक महासचिव लेखनाथ अधिकारीले गरेका थिए ।








प्रतिक्रिया