
काठमाडौं, २४ जेठ । भारतको उत्तराखण्डको रुद्रप्रयागमा रहेको केदारनाथको दर्शन गर्न गइरहेको हेलिकप्टर राजमार्गको बीचमा अवतरण गर्नुपरेको छ ।
शनिबार सिरसीबाट यात्रुहरू लैजाने क्रममा क्रेस्टेल एभिएसन प्राइभेट लिमिटेडको हेलिकप्टरले हेलिप्याडको सट्टा सडकमा सावधानी अपनाउँदै अवतरण गरेको हो ।
प्राविधिक गडबडीका कारण फाटा बारासु नजिकै राजमार्गमा आपतकालीन अवतरणको क्रममा एउटा गाडी क्षतिग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हेलिकप्टरमा जम्मा सात जना सवार थिए । जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थलमा पुग्यो र यात्रुहरूलाई सुरक्षित स्थानमा पठायो । हेलिकप्टर उडान भर्ने बित्तिकै पाइलटले प्राविधिक गडबडी महसुस गरे र तुरुन्तै अवतरण गरिएको बताइएको छ ।
हेलिकप्टरमा एक पाइलट, सहपाइलट र पाँच जना श्रद्धालु सवार थिए । सहपाइलटलाई सामान्य चोट लागेको बताइएको छ ।








प्रतिक्रिया