१५ असार २०८३, सोमबार

युवालाई नवप्रवर्तन र रोजगारीमा जोड्छौँ : मुख्यमन्त्री आचार्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवा पुस्ताको योगदान बढाउन प्रविधि, उद्यमशीलता र आयआर्जनमा आधारित योजनाहरूलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

शनिबार राप्ती उपत्यका (देउखुरी)मा नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री आचार्यले ‘जेन जी पुस्ता’लाई लक्षित गरी स्टार्टअप तथा इनक्युबेसन कार्यक्रम सञ्चालन गरेर नवप्रवर्तनको माध्यमबाट रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकता रहेको स्पष्ट पारे ।

‘लुम्बिनी प्रदेशमा स्टार्टअपलाई सुदृढ बनाउनु आजको आवश्यकता हो । युवालाई नवप्रवर्तनमा सक्रिय सहभागी गराउने र स्वरोजगार सिर्जना गर्ने सरकारको लक्ष्य छ’ मुख्यमन्त्री आचार्यले भने, ‘नवीन प्रयासका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर छ ।’

छलफलका क्रममा नेपाल उद्योग परिसंघले लुम्बिनी प्रदेशमा स्टार्टअप इनक्युबेसन सेन्टर स्थापना गर्न सकिने प्रस्ताव राखेको थियो । यसका लागि आवश्यक सहकार्य तथा नीतिगत सहयोग प्रदेश सरकारबाट आवश्यक पर्ने परिसंघले जनाएको छ ।

परिसंघका अनुसार एग्रिटेक, पर्यटन तथा डिजिटल सेवा जस्ता क्षेत्रहरूमा स्टार्टअप योजनाहरू कार्यान्वयन गर्न सकिनेछ । यसले युवाहरूको नविन सोचलाई व्यवसायिक रूप दिने, स्थानीय सीप र स्रोतलाई प्रयोगमा ल्याउने र रोजगारीको अवसर सृजना गर्ने अपेक्षा गरिएको छ ।

प्रदेशको नवप्रवर्तन क्षमतालाई व्यवस्थित रूपमा उपयोग गर्न र आर्थिक विकासको नयाँ ढोका खोल्न लुम्बिनीमा स्टार्टअप इनक्युबेसन केन्द्र स्थापनाको प्रक्रिया अघि बढाउने तयारी छ ।