३१ जेष्ठ २०८३, आइतबार

मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडकमा कालोपत्र सुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, २४ जेठ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो ।

रुरुक्षेत्रदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक यही आउँदो फागुन २५ सम्म कालोपत्र गर्ने काम सकिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी एवं इञ्जिनियर हुमनाथ पौडेलले जानकारी दिए ।

“रिडीदेखि २५ किलोमिटरसम्म ढलान र अस्फाल्ट गर्ने कार्यक्रम छ, अहिलेसम्म आठ किलोमिटर सम्पन्न भइसकेको छ, अब १७ किलोमिटर बाँकी छ, मौसमले साथ दियो भने यस आर्थिक वर्षमा १८ देखि १९ किलोमिटर गर्ने कार्यक्रम छ”, उनले भने ।

निर्माण कम्पनीले रुरुक्षेत्र गाउँपालिका, छत्रकोट र गुल्मीदरबार क्षेत्रमा ‘ग्रेड कटिङ’ र मोड सुधारको काम अन्तिम चरणमा पुगेको जनाएको छ । सम्झौताअनुसार कटिङ, नाली, संरचना निर्माण र ग्राभेलको काम दु्रतगतिमा भइरहेको छ । पच्चीस किमी सडकअन्तर्गत दुई किमी ढलान र छ किमी कालोपत्र भइसकेको आयोजना कार्यालयका सूचना अधिकारी हुमनाथ पौडेलले बताए ।

सडकखण्डमा हालसम्म ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । सडक निर्माणका क्रममा गत दुई वर्ष यस क्षेत्रका नागरिकले धुलो र हिलोको समस्या भोग्नुपरेको थियो ।

सडक निर्माणका लागि २०७९ फागुन २६ मा समानान्तर–एलाइट जेभीले एक अर्ब ५० करोड रुपैयाँको लागतमा रिडी–रुन्खादह सडकको ग्रेड कटिङ, मोड सुधारसँगै कालोपत्र गर्ने सम्झौता भएको थियो ।