
काठमाडौं, २३ जेठ । आरसीबीको विजय उत्सव मनाउने क्रममा भएको भागदौडमा प्रहरी कारबाही सुरु भएको छ । भागदौडमा ११ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।
बुधबार एम चिन्नास्वामी रंगशाला बाहिर भएको भागदौडको सम्बन्धमा बैंगलोर प्रहरीले आरसीबीका मार्केटिङ प्रमुख निखिल सोसालेलाई पक्राउ गरेको हो ।
निखिल सोसालेलाई मुम्बईको लागि उडान भर्ने क्रममा बेंगलुरु विमानस्थलमा पक्राउ गरिएको बैंगलोर प्रहरीले जनाएको छ । सोसाले डियाजियो इन्डियामा आरसीबीको मार्केटिङ र राजस्व प्रमुख हुन् ।
यसैगरी, प्रहरीले विजय परेडका आयोजक डीएनए इन्टरटेनमेन्ट नेटवर्क्स प्रालिका तीन कर्मचारी किरण, सुमन्त र सुनिल म्याथ्यूलाई पनि नियन्त्रणमा लिएको छ ।
कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याको निर्देशनमा कारबाही प्रक्रिया सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मुख्यमन्त्री सिद्धरामय्याले आरसीबी टोलीका प्रमुख प्रतिनिधिहरू, कार्यक्रम व्यवस्थापन कम्पनी डीएनए इन्टरटेनमेन्ट प्रालि र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)का अधिकारीहरूलाई पक्राउ गर्न आदेश दिएका थिए ।
उनीहरू विरुद्ध पनि एफआईआर दायर गरिएको छ, जसमा हत्याको कुनै आरोप नभए पनि घोर लापरवाही समावेश छ ।








प्रतिक्रिया