
वासिङ्टन, २३ जेठ । जर्मनीका चान्सलर फ्रेडरिक मर्जले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अमेरिकी राष्ट्रपतिको कार्यालयमा ओभल अफिसमा भेटवार्ता गरेका छन् ।
युक्रेन, कर वृद्धि र ट्रम्प प्रशासनले जर्मनीका अति दक्षिणपन्थीलाई दिएको समर्थनका बीच अमेरिकी राष्ट्रपति ट्रम्पसँग मर्जको प्रत्यक्ष भेटवार्ता भएको हो ।
आफ्नो निर्वाचनपछि पहिलो पटक अमेरिकाको भ्रमणमा रहेका ६९ वर्षीय कन्जरभेटिभ मर्जलाई ७८ वर्षीय रिपब्लिकन नेता ट्रम्पले वेस्ट विङबाहिर पहिलो प्रत्यक्ष बैठकको सुरुवातमा स्वागत गर्दा दुबै हँसिलो र आशावादी मुद्रामा देखिन्थे ।
आफ्नो कार्यकाल सुरू भएको एक महिनापछि मर्जले युद्धपछिको जर्मनीको ‘अपरिहार्य’ सहयोगीको रूपमा रहेको अमेरिकासँग राम्रो सम्बन्ध कायम राख्न कोसिस गर्दै ट्रम्पसँग सम्बन्ध बनाउने प्रयास गर्ने जर्मनीका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनले जर्मनीको नेटो खर्चमा तीव्र वृद्धि गर्ने र युक्रेनमा भ्लादिमिर पुटिनको सामना गर्ने साझा आधार खोज्ने प्रतिबद्धता व्यक्त गर्ने अनुमान गरिएको छ ।
ट्रम्पले युरोपेली सङ्घ (इयू)मा चर्को कर वृद्धि गर्ने धम्की दिएको विषयमा युरोपेली सङ्घको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने जर्मनीका नेता मर्जले भेटअघि वासिङ्टनसँगको वार्तामा आफू आत्मविश्वासी हुनुपर्ने तर्क गरेका छन् ।
न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले जर्मनीमा अभिव्यक्ति स्वतन्त्रताको मुद्दालाई लिएर मर्जसँग चासो व्यक्त गर्नेछन् ।
बैठकअघि वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै मर्जले यदि ट्रम्पले जर्मनीको आन्तरिक राजनीतिका बारेमा आवश्यक परेको खण्डमा आफ्नो विचार स्पष्ट सँग राख्ने बताएका थिए ।
व्यापार तनावका बावजुद जर्मन चान्सलर मर्जले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आफ्नो पहिलो आमनेसामने बैठकको लागि आफू ‘प्रतिक्षारत’ रहेको बताएका छन् ।
‘युरोपको सुरक्षा, स्वतन्त्रता र समृद्धिका लागि अमेरिकासँग हाम्रो गठबन्धन सर्वोपरि थियो, छ र रहनेछ,’ उनले बैठक अघि गरेको पोष्टमा लेखेका छन् । एएफपी








प्रतिक्रिया