२१ जेष्ठ २०८३, बिहिबार

आइसिसी विश्वकप लिग–२ : नेपालले नेदरल्याण्ड्सलाई हरायो

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल विजयी भएको छ ।

स्कटल्याण्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक बनाए । उनले ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रनमा आउट भए ।

यसैगरी, नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा तीन चौकाको सहयोगमा ‘नट आउट’ ३८ रन बनाए । पाँचौँ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपूर्ण साझेदारी गरे ।

ओपनर कुशल भुर्तेलले ४२ बलमा तीन चौकाको सहयोगमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा एक चौकाको सहयोगमा २३ रनमा आउट भए । अर्का ओपनर आसिफ शेखले २२ बलमा तीन चौका प्रहार गर्दै १९ रन बनाए । भीम सार्की २६ बलमा एक चौकाको सहयोगमा ११ रनमा आउट भए ।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले दुई विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९ दशमलव एक ओभरमा २२५ रनको योगफल बनाएको थियो । नेदरल्याण्ड्सका लागि नोहा कोर्सले ५५ बलमा पाँच चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए ।

यसैगरी, कप्तान स्कट एडवार्डसले ७१ बलमा चार चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । विक्रमजित सिंहलाई ३८ रन बनाए । ज्याक लायन ३४ बलमा २७ रन बनाएर आउट भए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए ।

यो जितसँगै नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौँ स्थानमा छ । पराजित नेदरल्याण्ड्स २१ खेलमा २६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा यथावत् छ ।