२२ जेष्ठ २०८३, शुक्रबार

“म झोले हो” अभियान : भारतीय “मैं भी चौकीदार” को झल्को, नेपाली राजनीतिमा नयाँ प्रयोग

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-शारदा गैरे/दैनिक नेपाल

नेपालको राजनीतिक परिवेशमा शब्दको जादू कति चल्छ ? सायद, धेरै नै। अनि जब त्यही शब्द ‘झोले’ हुन्छ, कुरा केवल जादूमै सिमित रहँदैन, बरु राजनीतिक रणनीति र जनमत निर्माणको केन्द्रविन्दु बन्छ।

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत चलाएको नारा “म झोले हो” नेपाली राजनीतिक भाषामा फेरि एउटा नयाँ अध्यायको सुरुआत हुन सक्ने संकेत देखिन्छ।

प्रधानमन्त्री ओलीले आज आफ्नो अफिसियल फेसबुक पेजमा लेखेका थिए – “जोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।”

प्रधानमन्त्रीले सुरू गरेको “म झोले हो” अभियान आज “ट्रेण्ड” बनेको छ ।

‘झोले’ शब्दको यात्राः गालीदेखि गौरवसम्म

विगत केही वर्षदेखि ‘झोले’ शब्द नेपाली राजनीतिक संवादको एउटा व्यंग्यात्मक गालीझैँ प्रयोग हुँदै आएको छ। राप्रपा, रास्वपा लगायतका स्वतन्त्र धारणाका पक्षधरहरूले मुख्यतः कांग्रेस, एमाले र माओवादीका कार्यकर्तालाई “झोले” भन्दै हेप्ने भाषा विकास गरेका थिए। ती दलहरूमा जनसरोकारभन्दा नेतापरस्ती बढी देखिन्छ भन्ने आरोप त्यसमा लुकेको थियो।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसै शब्दलाई उल्टाएर प्रयोग गर्ने निर्णय गरे। उनले भने, “हो, म झोले हुँ। देशका लागि सपना बोकेको, विचार बोकेको, परिवर्तन बोकेको झोला बोकेको मान्छे।” यति भनिएपछि, फेसबुक, ट्विटर, टिकटक हुँदै हजारौं समर्थकहरूले आफ्नो पोस्टमा ‘म झोले हो’ लेख्न थालेका छन् ।

भारतको ‘मैं भी चौकीदार’ सन्दर्भ

यो शैली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ मा चलाएको ‘मैं भी चौकीदार’ अभियानसँग मिल्दोजुल्दो देखिन्छ। जब कांग्रेस नेता राहुल गान्धीले “चौकीदार चोर है” भने, मोदीले त्यसैलाई आत्मसात् गर्दै आफ्ना सबै नेताहरूलाई ‘चौकीदार’ घोषणा गराए। त्यो नारा भावनात्मक समर्पणको प्रतीक बन्यो। नतिजा- भाजपा बहुमतसहित पुनः सत्तामा फर्कियो।

राजनीतिमा ब्रान्डिङको शक्ति

आजको राजनीति केवल विचारको लडाइँ होइन- ब्रान्डिङको लडाइँ पनि हो। सञ्चार माध्यम, सामाजिक सञ्जाल र मेसेजिङले जनताको भावनालाई गहिरोसँग छुन्छ। ओलीको “झोले” अभियान पनि ब्रान्डिङकै एउटा नयाँ अध्याय हो – जसले विगतमा आलोचनाको रूपमा प्रयोग भएको शब्दलाई गर्वको प्रतीक बनाउने प्रयत्न गर्छ।

“झोले” अब केवल बोकेको झोला होइन, सपना बोकेको झोला हो-  यही भावना एमाले फैलाउन खोजिरहेको छ। “झोले” शब्द अब गाली मात्र होइन एउटा आत्मपहिचान, समर्पण र सङ्घर्षको प्रतीक बन्दै गएको छ।