४ असार २०८३, बिहिबार

बजेटले प्रवासी नेपालीहरु उत्साहित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । प्रवासी नेपाली मञ्च (ओएनएफ)ले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटको स्वागत गरेको छ ।

मञ्चका अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाले शुक्रबार विज्ञप्ति जारी गर्दै यस पटकको बजेटमा प्रवासी नेपालीहरूको हित र आकांक्षालाई सम्बोधन गर्ने महत्वपूर्ण नीति तथा कार्यक्रमहरू समावेश गरिएकोमा खुशी व्यक्त गरेका हुन् ।

सरकारले यस पटकको बजेटमा वैदेशिक लगानी प्रवर्द्धन, वैदेशिक रोजगारीको सुदृढ व्यवस्थापन, गुणस्तरीय शिक्षामा पहुँच, प्रवासी नेपालीहरूको अधिकार र हित संरक्षण तथा उत्पादनशील क्षेत्रमा आधारित विकासलाई प्राथमिकता दिएको पाइएको प्रवासी नेपाली मञ्चले जनाएको छ । यी विषयहरूले प्रवासी नेपाली समुदायको दीर्घकालीन सपना र आकांक्षालाई साकार पार्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने मञ्चको विश्वास छ ।

यसैगरी, मञ्चले गैरआवासीय नेपालीहरूको नागरिकतासम्बन्धी ऐन तथा नियमावलीहरूमा आवश्यक संशोधनको तयारी भइरहेको र प्रवासी नेपालीहरूको प्रत्यक्ष सहभागितालाई पूँजी बजार र राष्ट्रिय विकासमा सुनिश्चित गर्ने सरकारको प्रतिबद्धताले आफूहरूलाई उत्साहित तुल्याएको पनि बताएको छ । दशकौंदेखि प्रवासी नेपालीहरूले सामना गर्दै आएका कानूनी बाधाको समाधानका लागि सरकारले गरेको प्रतिबद्धताले प्रवासी नेपाली समुदायमा नयाँ आशा जगाएको पनि मञ्चले जनाएको छ ।

सरकारले प्रस्तुत गरेको बजेटले प्रवासी समुदायको ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको समावेशी तथा दिगो विकासमा परिचालन गर्ने मार्ग प्रशस्त गर्नेछ भन्ने मञ्चको विश्वास छ ।

प्रवासी नेपाली मञ्चले सरकारसँग रचनात्मक सहकार्य गर्न र बजेटमा समावेश गरिएका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा सक्रिय भूमिका खेल्न पूर्णतः प्रतिबद्ध रहेको पनि जनाएको छ । मञ्चले आफ्नो संगठनात्मक क्षमता र विश्वव्यापी सञ्जाललाई परिचालन गरी यी कार्यक्रमहरूको सफल कार्यान्वयनमा योगदान पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेको छ ।