५ असार २०८३, शुक्रबार

‘समृद्ध नेपाल, सुखी नेपाली’ भनेको नेपाली मोडलको समाजवाद हो : ईश्वर पोखरेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य बोकेर हिँडेको पार्टी भएको बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को ११औं राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले एमाले देशमा समाजवाद स्थापनाको स्पष्ट लक्ष्यका साथ अघि बढेको बताए । त्यसैले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सोरेको वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट पारे ।

‘समृद्ध नेपाल, सुखी नेपाली भनेको नेपाली मोडलको समाजवाद हो, नेपाली मोडलको समाजवाद निर्माणको लागि बौद्धिक समुदायबाट कस्तो भूमिका खेलिनु पर्छ, नीति निर्माणमा, योजना निर्माणमा, कार्यक्रम निर्माणमा, आचरण निर्माणमा कस्तो काम गर्नुपर्छ भन्ने विषयमा खोज केन्द्रित भएर काम गर्नुपर्ने छ’, उनले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले बौद्धिक समुदायले नीति, कार्यक्रम, योजना र आचरण निर्माणमा भूमिका खेल्नु पर्नेमा जोड दिए । एमालेलेलाई अघि बढाउनको लागि प्रभावकारी भूमिका खेलिदिन उनले बुद्धिजीवीलाई आग्रह गरे ।

उनले एमाले लोकतान्त्रिक पार्टी भएकोले पार्टी भित्र र बाहिर लोकतान्त्रिक अभ्यास हुने पनि प्रष्ट पारे । तथापि एकता र आपसी सद्भावको लागि पार्टी नेतृत्वले भरसक सर्वसम्मतीबाटै नेतृत्व चयन होस् भन्ने अपेक्षा राख्ने उनले बताए । चुनाव हुँदैन, सर्वसम्मत भनेर माथिबाट थोपारिन्छ भन्ने जस्ता कटाक्ष नगर्न वरिष्ठ उपाध्यक्ष पोखरेलले आग्रह गरे ।

‘सर्वसम्मतिले नेतृत्व चयन गर्नु सबैभन्दा लोकतान्त्रिक विधि हो’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने । पार्टीको नेतृत्वले जनसंगठनको निर्वाचनमा खेलाडीको भूमिका नखेल्ने उनले स्पष्ट पारे । नेतृत्वले रेफ्रिको भूमिका भने खेल्ने उनले बताए । नेतृत्व चयनको कुरा सहभागीको बिजनेस भएको बताउँदै उनले पार्टी नेतृत्वले सहजीकरणको काम गर्ने जानकारी दिए ।