२८ असार २०८३, आइतबार

मुख्यमन्त्री आचार्यद्वारा समाज सेवाको भावना पुनःजागृत गर्न आह्वान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी, १७ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हराउँदै जान थालेको समाज सेवाको भावनालाई पुनःजागृत गर्न अभियान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको छैटौँ वार्षिक साधारणसभाको आज बुटवलमा उद्घाटन गर्दै उनले समाज सेवाको भावना हराउँदै जाँदा मानवीय सेवासमेत कमजोर बन्ने जोखिम रहेको उल्लेख गरे ।

“समाज सेवाको भावना कता–कता हराउँदै गइरहेको छ, आदर–सम्मानको भावना कता–कता हराउँदै गइरहेको छ”, उनले भने, “हामीले यसलाई जबसम्म पुनःस्थापित गर्न सक्दैनौँ, तबसम्म हामीमा रहने नैतिकता, आचरण र सद्भावका कुरा करिब–करिब मेटिँदै जान थालेका छन् ।”

मुख्यमन्त्री आचार्यले रेडक्रस अभियानलाई अझ व्यापक बनाउँदै समाज सेवाको भावना पुनःस्थापित गर्न जोड दिए । साथै विद्यालय–केन्द्रित कार्यक्रम सञ्चालन गरेर अभियानलाई जनस्तरसम्म पुर्‍याउन उनले आह्वान गरे । उनले लुम्बिनी प्रदेशलाई सबै खाले विपद्बाट सुरक्षित बनाउने गरी सरकारले विपद्प्रति कार्यको योजनालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।

भूकम्प, बाढीपहिरो, आगलागी, चट्याङ, सवारी दुर्घटनालगायत विपद्बाट प्रदेशलाई सुरक्षित बनाउने रणनीतिअन्तर्गत सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको उनको भनाइ थियो । “विपद्अघि, विपद्को बेलामा र विपद्पछि रेडक्रसको साथ रहने भएकाले यसको भूमिका अझ महत्वपूर्ण छ”, मुख्यमन्त्री आचार्यले स्मरण गराए ।