
काठमाडौं, १६ जेठ । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआई र च्याटिङ एप टेलिग्रामबीच ठूलो साझेदारी भएको छ । यो सम्झौतापछि अब मस्कको चर्चित एआई च्याटबोट ग्रोक टेलिग्राममा पनि आउने भएको छ ।
टेलिग्रामका संस्थापक पावेल दुरोव आफैले यो जानकारी दिएका छन् । यो साझेदारी एक वर्षका लागि रहेको र टेलिग्रामका एक अर्बभन्दा बढी प्रयोगकर्ताले यसबाट प्रत्यक्ष लाभान्वित हुने उनले बताए ।
यस सम्झौताअन्तर्गत ग्रोक च्याटबोट प्रत्यक्ष रूपमा टेलिग्राममा एकीकृत हुनेछ अर्थात् अब प्रयोगकर्ताहरूले टेलिग्राममा च्याट गर्दा पनि स्मार्ट एआई मद्दत प्राप्त गर्न सक्नेछन् ।
रिपोर्टहरूका अनुसार टेलिग्रामले यस साझेदारीबाट अमेरिकन डलर ३०० मिलियन कोष पाउनेछ । जसको केही अंश सेयरको रुपमा रहनेछ । यति मात्र होइन, टेलिग्रामले एक्स एआईको कमाईको ५० प्रतिशत प्राप्त गर्नेछ, जुन च्याटबोटको सदस्यताबाट हुनेछ ।
ग्रोकको आगमनसँगै टेलिग्राममा धेरै नयाँ र स्मार्ट एआई सुविधाहरू समावेश हुनेछन् । यी सुविधाहरू जुन २०२५ बाट सबै प्रयोगकर्ताहरूका लागि रोल आउट हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया