२६ जेष्ठ २०८३, मंगलबार

षट्कोण आर्ट्सको नयाँ फिल्म ‘लालीबजार’को पोस्टर सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आर्ट्सले नयाँ फिल्म ‘लालीबजार’ घोषणा गरेको छ ।

‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको ब्यानरले पहिलोपटक बाहिरी निर्देशकसँग काम गर्न लागेको हो । फिल्मका लेखक तथा निर्देशक यम थापा रहेका छन् ।

फिल्मलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने यस फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।

निर्माता बानियाँले षट्कोण आर्ट्सले स्क्रीप्टकै खोजीको क्रममा निर्देशक थापासँग सहकार्यको सुरुआत भएको बताए । उनले भने, ‘हामी अन्य लेखक तथा निर्देशकसँग सहकार्य गर्न छलफलमा थियौँ । राम्रो कथा दर्शकसम्म जानबाट बञ्चित नहोस् भनेर हामीले केही लेखक तथा निर्देशकसँग सहकार्यका लागि छलफल गरेका थियौँ । सोही क्रममा निर्देशक थापाले पठाउनु भएको स्क्रीप्टले हामीलाई आकर्षित गर्‍यो । उहाँले स्क्रीप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो तर हामीले नै निर्देशन गर्न आग्रह गर्‍यौँ ।’

निर्माता बानियाँले फिल्म घोषणासँगै रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले तयार पारेको ‘मिनिमल पोस्टर’ पनि सार्वजनिक गरेका छन् । जहाँ कलाकारको अनुहार नराखी पात्रको परिचय दिइएको छ । ‘लालीबजार’ का लागि तयार गरिएको कन्सेप्चुअल मिनिमल पोस्टरमा शीर्षकको अक्षर विन्यासमा एक प्रकारको खस्रोपन र विशेष बनावट देखिन्छ, जहाँ रातो थोप्लालाई टिकुलीको रूपमा प्रस्तुत गरिएको छ । यसले शीर्षकमा नै कुनै द्वन्द्व वा कथा लुकेको सङ्केत गर्दछ ।

एक पुरानो परम्परागत चुरालाई फूलको बुट्टासहित गोलो आकारमा स्केच गरिएको छ । यो गोलाकार चुराभित्र, एउटा चम्किलो रातो लिपस्टिक ठाडो अवस्थामा रहेको छ भने एउटा गोली तेर्सो परेर लडिरहेको देखिन्छ । भीमसेनका अनुसार यी तत्वहरूको संयोजनले गहिरो लुकेको अर्थ बोकेको छ र चुराको गोलाबाट बाहिरतिर उडिरहेका चराहरूले आशा र स्वतन्त्रताको अनुभूति दिलाउँछन् ।

‘लालीबजार’का लागि कलाकार छनोट प्रक्रियामा रहेको निर्माता बानियाँले जानकारी दिएका छन् । उनले आगामी दसैँ लगत्तै चलचित्रको छायाङ्कन गरिने जानकारी दिए ।

षट्कोण आर्ट्स एकल निर्माता भएर निर्माण गरिरहेको ‘लालीबजार’ पाँचौं फिल्म हो । यसबाहेक ‘टल्कजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायतका फिल्ममा अन्य व्यानरसँग सहकार्य गरेको छ ।