
वीरगञ्ज, ९ जेठ । जिल्ला निर्वाचन कार्यालय पर्सामा आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्म मतदाता नामावली अद्यावधिक गर्नेको सङ्ख्या तीन लाख ५१ हजार ६२८ जना पुगेको छ । कार्यालयका प्रमुख अनामिका रौनियारले पर्सामा सबैभन्दा धेरै मतदाता वीरगञ्ज महानगरमा रहेको जानकारी दिइन् ।
“महानगरमा एक लाख ३२ हजार ३९३ जना मतदाता रहनुभएको छ”, उनले भनिन्, “महानगरमा पुरुष मतदाता सङ्ख्या ७५ हजार १६९ रहेको छ भने महिला मतदाताको सङ्ख्या ५७ हजार २२० जना रहेका छन् ।” कार्यालयका अनुसार पछिल्लो समय महिलाहरू मतदाता नामावलीमा आफ्ना नाम राख्न इच्छुक हुँदै गइरहेका छन् ।
वीरगञ्ज महानगरमा अन्य समुदायका मतदाता सङ्ख्या भने चार जना छन् । कार्यालयका अनुसार छिपरमाई गाउँपालिकामा १५ हजार ९७२, जगरनाथपुर गाउँपालिकामा १८ हजार ६७२, धोबिनी गाउँपालिकामा १२ हजार ४२५ जना मतदाता रहेका छन् । पकहाँमैनपुर गाउँपालिकामा १२ हजार ५९२ जना रहेका छन् ।
त्यसैगरी, विन्दवासिनी गाउँपालिकामा १५ हजार १८८ र सखुवाप्रसौनी गाउँपालिकामा २० हजार १४४ मतदाता छन् । कालिकामाई गाउँपालिकामा १३ हजार २८२, जिराभवानी गाउँपालिकामा १४ हजार २६४ र ठोरी गाउँपालिकामा १४ हजार ६७६ जना छन् । पटेर्वा सुगौली गाउँपालिकामा १४ हजार ३३, पर्सागढी नगरपालिकामा २२ हजार ९५१ जना मतदाता रहेका छन् ।
त्यस्तै, पोखरिया नगरपालिकामा २० हजार ४३ र बहुदरमाई नगरपालिकामा पनि २४ हजार ९९३ जना मतदाता रहेका छन् । पर्सामा अन्य समुदायका १५ जना मतदाता छन् ।








प्रतिक्रिया