
दुबई, ७ जेठ । विश्वकै सबैभन्दा ठूलो तथा प्रभावशाली डिजिटल वाणिज्य र फिन्टेक प्रदर्शनी सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पविलियनको औपचारिक उद्घाटन भएको छ, जसले नेपालको फिन्टेक र डिजिटल नवप्रवर्तन यात्रामा एक ऐतिहासिक मोड ल्याएको छ ।
फिन्टेक एलायन्स नेपाल (एफएएन)को नेतृत्वमा सुरु गरिएको यो नवीन पहलले ९ वटा अग्रणी नेपाली आइटी तथा फिन्टेक कम्पनीहरूलाई एउटै राष्ट्रिय ब्यानरअन्तर्गत एकजुट गर्दै नेपालको नवीनता, आकांक्षा र अन्तर्राष्ट्रिय सम्भावनालाई विश्वमञ्चमा प्रस्तुत गरेको छ । तीन दिनसम्म चल्ने यो प्रदर्शनीको उद्घाटन समारोहमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेज बहादुर छेत्री तथा विश्वभरका प्रमुख सिइओ, सिएक्सओ र फिन्टेक अधिकारीहरूको उपस्थिति रहेको थियो ।
सिमलेसको आयोजक समितिसँगको नजिकको समन्वयमार्फत एफएएनले दुबई वर्ल्ड ट्रेड सेन्टरको हल ८, एच८–एफ२० मा ८x८ वर्ग मिटरको पविलियन सुरक्षित गर्न सफल भयो, जसले अन्तर्राष्ट्रिय फिन्टेक मञ्चमा नेपाललाई अहिलेसम्मकै सबैभन्दा दृश्यात्मक उपस्थिति दिएको छ । यो पविलियन नेपाली सिर्जनशीलतालाई उजागर गर्न, सीमापार साझेदारीहरू प्रवर्द्धन गर्न, र विश्वव्यापी फिन्टेक खेलाडीहरूलाई नेपालको डिजिटल अर्थतन्त्रमा उदाउँदै गरेका अवसरहरू अन्वेषण गर्न निमन्त्रणा दिने उद्देश्यले डिजाइन गरिएको बताइएको छ ।
एफएएनका अध्यक्ष तथा सिटिटेक ग्लोबलका सिईओ साजन शर्माले भने, “यो केवल एउटा साधारण स्टल मात्र नभई, हाम्रो क्षमता र सम्भावनाको स्पष्ट सन्देश हो । मैले लगातार धेरै वर्षदेखि सिमलेसमा सहभागिता जनाउँदै आएको छु र विश्व फिनटेक क्षेत्रको रूपान्तरणलाई नजिकबाट अवलोकन गरेको छु । अघिल्लो वर्षहरूमा सिटी टेकले एकल प्रदर्शकको रूपमा सहभागिता जनाउनु रोमाञ्चक अनुभव थियो, तर आज यहाँ सम्पूर्ण नेपाली नवप्रवर्तनले भरिएको पविलियनमा उभिनु, मलाई एक नेपालीको हैसियतले र यो उद्योगको योगदानकर्ताको रूपमा अपार गर्वले भरिएको महसुस गराएको छ ।”
नेपाल पविलियनमा सिटी एक्सप्रेस मनी ट्रान्सफर, सिटीटेक ग्लोबल, आइएमई लिमिटेड, एनएमबी बैंक, ल्याम्डा पेमेंट्स, माइक्रोब्यांकर नेपाल, प्रोग्रामिज, आइमार्क प्रालि, रारा ल्याब्स सहभागी थिए ।
२९ सदस्य कम्पनीहरूसहित फिनटेक एलायन्स नेपाल (एफएएन)ले फिनटेक फ्राइडे र फिनटेक सोशल्स जस्ता इकोसिस्टम निर्माण गर्ने कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ । एफएएनले यो पहिलो अन्तर्राष्ट्रिय सहभागितालाई एक निर्णायक र प्रेरणादायी सुरुवातको रूपमा लिएको छ । “महिनौंको कठिन परिश्रम, समन्वय, र साझा दृष्टिकोणमा विश्वासका कारण मात्रै यो सम्भव भएको हो,” शर्माले भने, “तर यो त केवल सुरुवात हो । हामीले झन्डा गाडिसकेका छौँ, अब सहकार्य र सम्भावनाको सेतु तयार गर्ने बेला आएको छ ।”








प्रतिक्रिया