
काठमाडौं, ६ जेठ । ‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु भएको छ । नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा कफीमा सोमबारबाट प्रदर्शनी सुरु भएको हो ।
रोल्पाका धार्मिक, सांस्कृति तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित पर्यटन प्रवर्द्धन मञ्च नेपालले आयोजना गरेको प्रदर्शनी पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले उद्घाटन गरको छन् ।
पूर्वमन्त्री पुन प्रमुख अतिथि रहेको प्रदर्शनी उद्घाटन समारोहको विशेष अतिथिमा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे रहेका थिए । कार्यक्रममा रोल्पाबाट आएर काठमाडौंमा बसोबास गरिरहेका विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु तथा कलाकार, पत्रकार, पर्यटनकर्मी, साहित्यकारलगायतको उपस्थित रहेको थियो ।
प्रदर्शनीमा फोटो पत्रकार पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, पर्यटन र इतिहास झल्काउने ३० भन्दा बढी फोटोहरु प्रदर्शनीमा राखिएको छ ।
साहित्यकार सुमन थापा ‘संगम’ले सञ्चालन गरेको उद्घाटन समारोहमा स्वागत मन्तव्यमार्फत वरिष्ठ पर्यटन पत्रकार अमृत भादगाउँलेले फोटो प्रदर्शनीबारे जानकारी दिएका थिए । त्यसपछि सम्बोधन गरेका टानका अध्यक्ष पाण्डले प्रदर्शनी सफलताको शुभकामना दिए ।
प्रमुख अतिथि पुनले रोल्पा विगतमा ‘राजनीतिक द्धन्द्धको केन्द्र’ भनेर चिनिने गरेकोमा अहिले आर्थिक हिसाबले उत्पादन र प्रवर्द्धनको केन्द्रको रुपमा विकास गर्ने कोसिस गरिरहेको उल्लेख गर्दै भने, ‘आर्थिक उत्पादन रोजगारी सिर्जनाको एउटा महोत्वपूर्ण क्षेत्र पर्यटन हो। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले क्षेत्रका फोटो संकलनहरु यहाँ प्रदर्शनीमा आएका छन् । मलाई खुसी लागेको छ ।’
पुनले फोटो प्रदर्शनीले रोल्पाको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, फोटो पत्रकार बल्कुरामले संघीय राजधानी काठमाडौंमा आफूले खिचेका तस्वीरहरु देखाएर रोल्पाको पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्याउने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे । उनले उपस्थित सबैलाई धन्यवाद दिँदै एकपटक रोल्पामा घुम्न निम्तोसमेत दिए ।
प्रदर्शनी आगामी बुधबारसम्म जारी रहनेछ । प्रदर्शनी अवधिभर विभिन्न व्यक्तिहरुको उपस्थितिमा रोल्पाको पर्यटन विकासबारे चर्चा हुने आयोजक पर्यटन प्रवर्द्धन मञ्च नेपालले जानकारी दिएको छ ।















प्रतिक्रिया