२५ जेष्ठ २०८३, सोमबार

लुम्बिनी क्रिकेटका अध्यक्ष गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ३ जेठ । लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ पदमुक्त भएका छन् । गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका हुन् ।

२०८१ चैत २२ गते संघका उपाध्यक्ष विनय राजभण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको प्रस्ताव नेपाल क्रिकेट संघ (क्यान)मा पठाइएको थियो । क्यानको निर्देशनअनुसार शनिबार कपिलवस्तुको तौलिहवामा भएको विशेष साधारणसभाबाट गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका हुन् । गुरुङ पछिल्लो डेढ वर्ष यता संघको अध्यक्ष थिए ।

विशेष साधारणसभामा उपस्थित ३८ जना (शतप्रतिशत) प्रतिनिधिले नै अविश्वासको प्रस्तावको पक्षमा मतदान गरे । गुरुङको पक्षमा भने शुन्य मत परेको प्रदेश क्रिकेट संघले जनाएको छ । संघका कुल ४१ प्रतिनिधिमध्ये कोषाध्यक्ष राजेश शाक्यको मृत्यु भएपछि पद खाली छ ।

साधारणसभामा अध्यक्ष गुरुङ उपस्थित भएनन् भने संघका सदस्य सुभाष तिमिल्सिना अष्ट्रेलियामा भएकाले उपस्थित भएनन् । गुरुङ पदमुक्त भएपछि संघको अध्यक्ष पद खाली भएको छ ।

गुरुङ पदमुक्त भएपछि संघको उपाध्यक्ष राजभण्डारी कार्यवाहक अध्यक्ष बनेका छन् । संघको विशेष साधारणसभाले रिक्त अध्यक्ष र कोषाध्यक्ष चयनका लागि एक विशेष साधारण सभा गर्ने तयारी गरेको कार्यवाहक अध्यक्ष भण्डारीले बताए ।

गुरुङले मनपरी संघ चलाएको, आर्थिक अनियमितता गरेको र विधानलाई बेवास्ता गरी अघि बढेको भन्दै संघमा आवद्ध दुई तिहाई बढी प्रतिनिधिले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

विशेष सधारणसभाबाट गुरुङ पदमुक्त भएपछि कार्यवाहक अध्यक्ष राजभण्डारीको अध्यक्षतामा बसेको प्रदेश कार्यसमितिको बैठकले सधारणसभाको मिति समेत तोकेको छ ।

राजभण्डारीका अनुसार बैठकले जेठ ३१ गते पाल्लामा विशेष सधारणसभा गर्ने निर्णय गरेको छ । उनले साधारणसभाले नयाँ नेतृत्व चयन गरेर संघलाई बलियो, पारदर्शी र क्रिकेट गतिविधिमा क्रियाशील बनाउने जानकारी दिए ।