
काठमाडौं, ३ जेठ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । त्यस अवसरमा मन्त्री डा राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकामा धन्यवाद व्यक्त गरिन् । साथै, मन्त्री डा राणाले सिन्धुली बर्दिवास बाटोको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सहयोग गरेकामा जापान सरकारलाई धन्यवाद ज्ञापन गरेको उनको निजी सचिवालयले जनाएको छ ।
गत वर्ष आएको अविरल वर्षाका कारण सिन्धुली बर्दिवास बाटोमा ठूलो क्षति पुगेको छ । जापान सरकारको अनुदानमा निर्मित बाटोको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको हो ।
मन्त्री डा. राणा र जापानी उपविदेशमन्त्रीबीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्याउँदै आएको सहयोगका लागि पनि धन्यवाद ज्ञापन गरेकी थिइन् ।
मन्त्री डा. राणाले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यबद्धता जनाउन र सहयोगका लागि जापानसँग आग्रह पनि गरेकी थिइन् ।









प्रतिक्रिया