२१ असार २०८३, आइतबार

आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ : मुख्यमन्त्री आचार्य

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ३० वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजलाई आध्यात्मिक ज्ञान र साधनाको माध्यमबाट सुन्दर बनाउन सकिने बताएका छन् ।

सिद्धार्थनगर नगरपालिका–४, रुपन्देहीमा निर्माण भएको ‘द आर्ट अफ लिभिङ’ आश्रमको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई आध्यात्मिक ज्ञान र साधनाको केन्द्र बनाउन सहकार्यलाई निरन्तरता दिइने बताए ।

‘ज्ञान र साधनाको माध्यमबाट समाजलाई परिवर्तन गर्ने, समाजलाई सत्मार्गमा लैजाने अभियान हो’ उनले भने, ‘जुन लक्ष्य र उद्देश्य राखेर यो अभियान थाल्नुभएको छ, त्यसको पूर्ण सफलताको कामना गर्दछु ।’

उनले समाजमा आध्यात्मिक चेतना, मानसिक स्वास्थ्य र सामाजिक सद्भाव विस्तारका लागि यस्ता अभियानहरू उपलब्धिपूर्ण हुने धारणा राखे । ‘समाजलाई परिवर्तन गर्न, सत्मार्गमा डोर्‍याउन यस्ता अभियानहरूले महत्त्वपूर्ण भूमिका खेल्नेछन् । हाम्रो जीवन के हो ? कसरी खुशी हुने ? सुखी कसरी बन्ने ? स्वस्थ कसरी बन्ने ? भन्ने सवालमा यसले ध्यान र ज्ञानका कार्यहरूलाई अगाडि बढाउनेछ’ मुख्यमन्त्री आचार्यले भने, ‘यी अभियानहरूमा हाम्रो साथ रहनेछ ।’

आश्रमका संयोजक दीपेन्द्र प्रधानका अनुसार साढे चार करोड रुपैयाँको लागतमा आश्रम निर्माण थालिएको हो । दान संकलन गरेर आश्रमको संरचना निर्माण भइरहेको छ । ७ कठ्ठा जग्गामा फैलिएको यस आश्रमसँगै देशभर यस्ता तीनवटा आश्रम रहेका छन् भने २६ वटा स्थानमा योग केन्द्र रहेका छन् ।

द आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंहका अनुसार देशका अन्य प्रदेशहरूमा पनि विस्तार गर्ने योजना रहेको छ ।

यस्तै, भैरहवा आश्रमलाइ युवाहरु लक्षित विभिन्न सीप विकास तालिम केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।