
काठमाडौं, २९ वैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेश प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।








प्रतिक्रिया