
पर्सा, २८ वैशाख । खानेपानीमन्त्री प्रदीप यादवले देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन् ।
शनिबार वीरगञ्ज महानगरपालिका–१६ मा नागवामा खानेपानी ट्याङ्कीको शिलान्यास कार्यक्रममा मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि प्रयाप्त बजेट विनियोजन गरिने उल्लेख गरे ।
उनले भने, ‘नागरिकलाई शुद्ध, स्वच्छ र सुरक्षित खानेपानी वितरण गर्नु सरकारको प्रमुख लक्ष्य हो । खानेपानीका क्षेत्रमा प्रयाप्त बजेट विनियोजन हुन्छ । सबै नागरिकलाई सुरक्षित पानी वितरण गर्ने योजनासहित कार्य भइरहेको छ ।’
आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासका लक्ष्य हासिल गरिने मन्त्री यादवले बताए । उनले भने, ‘आगामी वर्ष तराई–मधेस, हिमाल र पहाडका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्याउने उद्देश्यले सिङ्गो मन्त्रालय लागिपरेको छ । खानेपानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रूपमा सञ्चालन गर्नेछौँ ।’
नागवा खानेपानी ओभरहेड ट्याङ्की आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउँदै आफूले मन्त्रीको हैसियतले यथासमयमा काम सम्पन्न होस् भनेर नियमित अनुगमन गर्ने मन्त्री यादवले प्रतिबद्धता जनाए ।
उनले भने, ‘मैले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने एउटा ऐतिहासिक आयोजनाको शिलान्यास गर्न पाउँदा गर्व महसुस गरिरहेको छु । गाँस, बास, कपडा जस्तै पानी पनि मानव जीवनको आधारभूत आवश्यकता हो र आज हामी त्यो आधारभूत हक सुरक्षित गर्न एक कदम अघि बढेका छौँ ।’
यस आयोजनाबाट वडा नं १५ र १६ का करिब तीन हजार पाँच सय घरधुरी लाभान्वित हुने खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले जानकारी दिए । उनका अनुसार हालसम्म खानेपानीको अभावमा दैनिक जीवनमा कठिनाइ भोगिरहेका यहाँका नागरिकलाई आयोजना सम्पन्न पश्चात् सहज, शुद्ध र पर्याप्त पानी आपूर्ति हुने विश्वास लिइएको छ ।
खानेपानी वितरणका लागि करिब तीन करोड ५० लाख रुपैयाँको लागतमा ओभरहेड ट्याङ्की निर्माण सुरु भएको नेपाल खानेपानी संस्थानले जनाएको छ ।








प्रतिक्रिया