९ असार २०८३, मंगलबार

बागलुङको सबैभन्दा ठूलो ‘दरमखोला हाइड्रोपावर’ अन्तिम चरणमा

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २७ वैशाख । दरमखोला हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ । पाँच वर्ष अगाडि निर्माण सुरू भएको हाइड्रोपावर असारमा सञ्चालनमा आउने गरी धमाधम काम भइरहेको छ ।

विसं २०६५ मा हाइड्रोपार निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि मात्रै काम सुरू भएको थियो । अहिलेसम्म पाइलाइन, विद्युत्गृह निर्माणसहित ९६ प्रतिशत काम सकिएको छ ।

सुरूमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने पनि अहिले दरमखोला हाइड्रो इनर्जी प्रालिले काम गरिरहेको छ । गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम निर्माण गरी साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युत्गृह निर्माण गरिएको छ । यो हाइड्रोपावर बागलुङ जिल्लाकै सबैभन्दा ठूलो हो । हाइड्रोपावरबाट ९ दशमलव ६ मेघावाट विद्युत् उत्पादन हुने दरमखोला हाइड्रो इनर्जी प्रालिका इञ्जिनियर नीरज दासले जानकारी दिए ।

अब विद्युत्गृह भित्रको केही काम बाँकी रहेको भन्दै असार महिनाभित्रै विद्युत् उत्पादन गर्नेगरी काम भएको दासले जानकारी दिए । यस हाइड्रोपारवलाई केन्द्रीय प्रशारण लाइनमा जोड्ने उनको भनाइ छ । लाइन तान्ने र पोल गाड्ने काम विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले गरी रहेको दास बताउँछन् ।

उनले भने, ‘हाइड्रोपावरको धेरै काम सकियो, अब केही ‘इन्टरर्नल’ काम मात्रै बाँकी छन्, ति काम पनि छिट्टै सकिने गरी भइरहेका छन्, हामीहरूले पाइपलाइनमार्फत दरमखोलाको पानी लिएर विद्युत् उत्पादन गर्न थालेका हौँ, काँडेबासमा ड्याम निर्माण गरेर मनेवामा पावर हाउस निर्माण भएको छ, अबको दुई महिनामा विद्युत् उत्पादन हुनेछ ।’

हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेड पाएका थिए । दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुन ‘नीरज’ले हाइड्रोपावर दुई अर्ब १५ करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको बताए । सुरूमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरी इजाजत पाए पनि कम्पनीले काम नगरेपछि आफूले सुरू गरेको उनको भनाइ छ । जिल्लाका विकट क्षेत्रमा विद्युत् पुर्‍याउने उद्देश्यले हाइड्रोपावर निर्माण गरेको अध्यक्ष पुन बताउँछन् ।

‘यो हाइड्रोपावर निर्माण गर्न धेरै समय लाग्यो, १७ वर्ष अगाडि गोर्खा हाइड्रोपार कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्ध गरेर हामीहरूले नयाँ कम्पनी बनाएर काम गर्‍यौँ, प्रक्रिया धेरै पहिले सुरू भए पनि काम थालेको पाँच वर्ष भयो’, अध्यक्ष पुनले भने, ‘यहाँबाट विद्युत् उत्पादन भएपछि हरिचौर सवस्टेशनमा जोड्ने तयारीमा छौँ, एक डेढ महिनामा यो विद्युत् बाल्छौँ, यो बागलुङकै ठूलो हाइड्रोपावर हो ।’