२८ आश्विन २०८३, बुधबार

हिमाली जिल्ला औंलोको उच्च जोखिममा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १३ बैशाख । कर्णालीका हिमाली जिल्लाहरु औंलोको उच्च जोखिममा रहेका छन् । कर्णालीका दश जिल्लामध्ये हिमाली जिल्ला हुम्ला औंलो रोगको उच्च जोखिममा रहेको हुन् ।

त्यस्तै कालीकोट, दैलेख र सुर्खेत औंलोको जोखिममा रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्यले जानकारी दिए ।

हुम्लामा भेटिएका दुई जना औंलो रोगका बिरामीमध्ये एउटा स्थानीयस्तरमा रोग लागेको भेटिएकोले हुम्ला जिल्ला उच्च जोखिममा रहेको उनले बताएका छन् । चालू आर्थिक वर्षमा कर्णालीमा ३८ जना औंलोको बिरामी पत्ता लागेको र हुम्लामा भेटिएका एक जनाबाहेक अरु आयातित बिरामी भएको आचार्यको भनाइ छ । चालू आर्थिक वर्षमा कर्णाली प्रदेशमा सुर्खेतमा २९, दैलेखमा ४, कालिकोटमा ३ र हुम्लामा १ जनाऔलो रोगका बिरामी फेला परेको आचार्यले जानकारी दिए । ‘३७ जना आयतित औंलो रोगमा बिरामी भेटिएका छन्,’ उनले भने,‘एक जनामा स्थानीय औंलोका बिरामी भेटिएका हुन् ।’

कर्णालीका चार जिल्लामा भेटिएका औलो रोगका बिरामीमध्ये हुम्लाको ताजाकोट गाउँपालिका, दैलेखको आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, ठाटीकाँध गाउँपालिका, कालिकोटको खाँडाचक्र नगरपालिका, सुर्खेत जिल्लाका बराहताल गाउँपालिका वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका गुर्भाकोट नगरपालिका, लेकबेँसी नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा औंलो रोगका बिरामी रहेको आचार्यले बताए ।

त्यस्तै, कर्णालीका ७९ स्थानीय तहका सात सय १८ वडामध्ये तीन वडा औलो रोगको उच्च जोखिम रहेको, सात वटा वडा मध्यम जोखिम रहेको, चार सय १० वटा वडा निम्न जोखिम रहेको र दुई सय ९८ वडामा जोखिम नरहेको आचार्यले जानकारी दिएका हुन् ।

उच्च जोखिममा रहेको वडामध्ये हुम्ला ताजाँकोट गाउँपालिका वडा नंं २, ३ र ४ रहेको छन् । न्युन जोखिममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. २, गुर्भाकोट नगरपालिका वडा नं. ८, मुगु खत्याड गाउँपालिका वडा नंं. ८, सोरु गाउँपालिका वडा नंं. ४, ५, हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं.३ र ताजाँकोट गाउँपालिका वडा नंं ५ रहेको आचार्यले बताए ।