
कास्की, ४ वैशाख । पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि गण्डकी हिरोज र सिइसी काठमाडौं भिड्ने भएका छन् ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा आज वर्षाका कारण पहिलो सेमिफाइनल खेल पाँच ओभरको खेलाइएकामा काठमाडौंले हिमाल फ्रेण्ड्स क्रिकेट एकेडेमीलाई १० रनले पराजित गरी फाइनल प्रवेश गर्न सफल भयो ।
यसैगरी, दोस्रो सेमिफाइनल खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि खेलको नतिजा टसबाट गरिएकामा गण्डकी भाग्यमानी बन्दै उपाधि नजिक पुग्न सफल भयो ।
टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले पाँच ओभरमा ५७ रन बनाएको थियो । खेलमा जितका लागि ५८ रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्सले पाँच ओभरमा तीन विकेट गुमाउँदै ४७ रनमा समेटियो ।
ओपनर सुवोध ऐरी १३ रनमा आउट भए । उनले आठ बलमा दुई चौका प्रहार गरे । आसिष तिरुवा १३ रनमा र अयुव चन्द २ रनमा नटआउट रहे । काठमाडौंका लागि मनोज यादवले दुई विकेट लिदाँ युनिश विक्रम सिंह ठकुरीले एक विकेट लिए ।
काठमाडौंका ओपनर रित गौतमले सर्वाधिक २८ रन बनाए । अर्जुन घर्ती १३ र दीपेन्द्र रावत आठ रनमा नटआउट रहे ।
टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले १३ ओभरको तेस्रो बलमा चार विकेट गुमाउँदै एक ४६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएपछि निर्णय टसबाट गरिएको हो ।
गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कूल १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको फाइनल खेल भोलि सञ्चालन हुनेछ । च्याम्पियन टोलीले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी, ‘म्यान अफ दि सिरिज’ ले नगद ३० हजार रुपैयाँ, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद १० हजार रुपैयाँका साथमा ट्रफी प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।








प्रतिक्रिया