
काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली समाजको पुराना कुरा सम्झिने बानी निक्कै कमजोर भएको बताएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले विगतमा राजतन्त्रले गरेको शोषण र अत्याचार सम्झिन आग्रह गर्नुभयो । राजतन्त्रको समाज अँध्यारो समाज भएको पोखरेलले बताएका हुन् । देश लोकतन्त्र आएपछि विकासको पथमा अघि बढिरहेको उनले बताए । तर जति आवश्यकता हो त्यस अनुसार विकासको गति अघि बढ्न नसकेको उनको धारणा छ । ‘राजनीतिक स्थिरताको अभावमा जति काम हुनु पर्ने हो त्यति हुन सकेको छैन’, उनले भने ।
देश बनाउने हो भने अब राजनीतिक स्थायित्वको दिशामा जान जरुरी रहेको उनको भनाइ छ । त्यसको लागि नेपालमा बलिया राजनीतिक दल आवश्यक रहेको पोखरेलले स्पष्ट पारे । देश विकासको लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक पार्टी र राजनीतिक स्थिरता चाहिने पोखरेलले बताए ।
जो देशको लागि काम गर्न सक्षम छ उसैमाथि आक्रमणको प्रयास भइरहेको बताउँदै उनले सक्षम नेतृत्वलाई खुइल्याउने काम भएको धारणा राखे । आफ्नो सबै सम्पत्ति आफ्नो शेष पछि राष्ट्रको नाममा हस्तान्तरण गर्ने व्यक्तिलाई भ्रष्टाचारीको आरोप लगाउने काम भएको भन्दै उनले निन्दा गरे । अब देश बनाउने पार्टी नेकपा एमाले नै भएको बताउँदै उनले एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताए । यसको लागि पार्टीलाई गोलबन्द बनाएर लैजानु पर्ने पोखरेलको धारणा छ । विगतको कामको समीक्षा गरी भविष्यको दिशा निर्देश गर्नुपर्ने उनले स्पष्ट पारेका छन् । देश विकासको लागि राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । ‘सामाजिक अराजकताको चरित्रलाई बदल्न सकिएन भने राष्ट्र निर्माणको हाम्रो आकाङ्क्षा पुरा हुन सक्दैन’,उनले भने ।
देशलाई पछाडि धकेल्न चाहनेलाई रोकेर देश निर्माणको अनुकूल वातावरण निर्माण गर्न आवश्यक रहेको उनले बताए । यसमा भूतपूर्व सैनिक र प्रहरीको महत्त्वपूर्ण भूमिका भएको पोखरेलको धारणा छ । पार्टी र देश विरुद्धको षडयन्त्रलाई परास्त गर्नुपर्नेमा पोखरेलले जोड दिएका छन् ।








प्रतिक्रिया