
सुर्खेत, २६ चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजतन्त्रले नेपालमा कहिल्यै पनि सत्कर्म नगरेको बताएका छन् ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको वृहत् जागरसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले त्यसैको परिणाम आज नेपाली जनताले भोगिरहेका बताएका हुन् ।
नेपाली राजतन्त्रको इतिहासमा पृथ्वीनारायण शाह र बहादुर शाहबाहेक अरू कसैले सत्कर्म नगरेका उनको भनाइ छ । ‘गाउँघरमा एउटा भनाइ छ–मान्छेले सत्कर्म गरेको रहेनछ भने मरेपछि प्रेत बनेर दुःख दिन्छ, सत्कर्म गरेको रहेछ भने सजिलै स्वर्ग जान्छ, दुष्कर्म गरेको रहेछ भने प्रेत बनेर दुःख दिन्छ, नेपालको राजनीतिमा अढाई सय वर्षसम्म शासन गरेको शाह वंशीय शासन सत्ताले सत्कर्म गरेको रहेनछ, त्यसैले प्रेत बनेर जनतालाई दुःख दिइरहेको छ, हामी त्यही प्रेत मन्छाउन आएका छौँ’,पोखरेलले भने ।
जनताले ल्याएको परिवर्तनका विरुद्ध प्रतिगामी सलबलाएकोले त्यसको खबरदारी गर्न एमाले सडकमा आउनु परेको पोखरेलले बताएका छन् । जनताले ल्याएको परिवर्तनका विरुद्ध औँला ठड्याएकोले त्यसका विरुद्ध खबरदारी गरिएको उनले स्पष्ट पारे ।
एमाले जनताले रोजेको पहिलो पार्टी भएकोले जनताले ल्याएको परिवर्तनको संरक्षणको लागि नेकपा एमाले जनताका बिचमा आएको पोखरेलले जानकारी दिए । जनताले ल्याएका परिवर्तन अरू कसैले नबोके पनि एमाले एक्लैले भए पनि बोक्ने पोखरेलले स्पष्ट परेका छन् । राजावादीहरूले केहीँ भएन भनिरहेका बताउँदै उनले २०४६ साल पछि कस्तो परिवर्तन भयो भन्ने कुरा हेर्न कर्णाली आउन निम्तो दिए ।
‘कर्णालीलाई अध्यारोपमा राख्नेहरू गणतन्त्रले के दियो भन्दछन्, गणतन्त्रले नुन खानको लागि हेलिकप्टर हेर्नु पर्ने कर्णालीवासीलाई घरघरमा नुन पुर्याइदियो, कर्णालीवासीलाई चामलको भात खाने बनायो, कर्णालीलाई मोटर बाटो दियो, गाउँ गाउँमा मोटर बाटो पुर्यायो, गणतन्त्रले दिएको परिवर्तन देख्न नसक्ने मण्डलेहरू राजाको शासनकालमा कर्णाली कस्तो थियो ?’, उनले भने । गणतन्त्रले केही दिएन भन्ने मण्डलेहरूलाई गाउँ गाउँमा नाङ्गेझार बनाउनु पर्ने उनको भनाइ छ ।
पञ्चायतको समयमा नेपाल कस्तो थियो भन्ने कुरा तथ्य र प्रमाणको आधारमा भन्न सक्नु पर्नेमा उनले जोड दिए । देशका विकास सोचे जस्तो हुन नसकेको भए पनि राजा र मण्डलेहरूले ध्वस्त पारेको देश र अर्थतन्त्रलाई गणतन्त्रले अघि बढाउने काम सुरु गरिसकेको उनले उदाहरण सहित पेस गरेका थिए । समृद्ध नेपाल सुखी नेपालीको बाटोमा नेपाल अघि बढेको बताउँदै राजावादीहरूले रोजेको बाटो विनाशको बाटो भएको स्पष्ट पारे । केपी ओली नेतृत्वको सरकारले निरन्तर काम गर्न पाएको भए देशको विकास धेरै माथि पुग्ने उनको भनाइ छ । एमालेले राम्रो काम गरेको कारण सरकारबाट हटाउने काम भएको बताउँदै उनले विकास खाने नेताबाट देशलाई जोगाएर विकास गर्ने नेतालाई सत्तामा ल्याउनु पर्ने धारणा राखे ।
अहिले मुलुकमा दुईवटा पार्टी मिलेर सरकार चलाइरहेको बताउँदै उनले सामान्य अवस्थामा दुईवटा प्रमुख पार्टी मिल्न नपर्ने भए पनि साना पार्टीले ठुला पार्टी माथि शासन गर्न लागेपछि दुई ठुला पार्टी मिल्नु परेको स्पष्ट पारेका छन् । ठुला पार्टी माथि साना पार्टीले शासन गरेको अवस्थामा देशको समृद्धि र विकास हुन नसक्ने उनको धारणा छ । माओवादीको अराजकता सदाको लागि समाप्त पार्नको लागि कांग्रेस र एमाले मिल्नु परेको उनले सुनाए । यो एकता २०८४ को निर्वाचनसम्म हुने उनले स्पष्ट पारे ।
‘मुलुकलाई सङ्कट पर्दा, नेपाली कांग्रेस र नेकपा एमाले मिलेका इतिहास छन्, त्यसैले अहिले पनि मिलेको छौँ, मुलुकको स्थितिलाई सुधार गर्ने अठोट गरेका छौँ, सङ्कल्प गरेका छौँ’, उनले भने ।
सधैँभरि भूमिहीनको कुरा गर्ने, सुकुम्वासीको कुरा गर्ने माओवादीले त्यो समस्या समाधान गर्न भूमि सम्बन्धी अध्यादेश ल्याउँदा त्यसलाई पास गर्नबाट पछि हटेर आफ्नो असली चरित्र देखाएको उनले बताए । तर पनि त्यो अध्यादेशलाई नियमित विधेयकको रूपमा ल्याएर आउने अधिवेशनबाट त्यसलाई पास गरी भूमि समस्या समाधान गरिने पोखरेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।








प्रतिक्रिया