२७ असार २०८३, शनिबार

निरङ्कुश राजतन्त्रलाई नेपाली जनताले मसानघाटमा पुर्‍याईसके : गोरख बोगटी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २६ चैत । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इञ्चार्ज गोरखबहादुर बोगटीले निरङ्कुश राजतन्त्रलाई नेपाली जनताले मसानघाटमा पुर्‍याइ सकेको बताएका छन् ।

मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको वृहत् जागरसभालाई सम्बोधन गर्दै बोगटीले अब पनि वंश र परम्पराको आधारमा शासन गर्ने सपना नदेख्न पूर्व राजा र उनका समर्थकहरूलाई आग्रह गरेका हुन् । ‘जरा गाडेर बसेको राजतन्त्रलाई नेपाली जताले जरैबाट उखेलेर मसानघाटमा पुर्‍याइ सकेका छन्, देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापना गरेकै १७ वर्षको समयावधि हामीले बिताइ सकेका छौँ’, उनले भने ।

नेपालमा संघीय गणतन्त्र स्थापनमा एमालेको ठुलो योगदान रहेको बताउँदै उनले नारायणहिटीबाट निकालेर नागार्जुनमा थन्क्याइसकेको पूर्वराजाले केही मानिस उफारेर काठमाडौंमा हुलहुज्जत गरेको घटनालाई एमालेले स्वीकार्न नसक्ने स्पष्ट पारे । ‘लोकतन्त्र माथि धावा बोलेको कुरालाई नेकपा एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन’, बोगटीले भने ।

जनताका साझा सवालका विषयलाई अझ सुदृढ रूपमा उठाउन र प्रतिगमनकारीको षडयन्त्रलाई चिर्न नेकपा एमालेले जागरण सभा आयोजना गरेको उनको भनाइ छ । मरिसकेको राजतन्त्र कतैबाट पनि फर्केर आउने बाटो नभएकोले राजावादीलाई अनावश्यक विषय नउछाल्न बोगटीले आग्रह गरे ।

बोगटीले पूर्वराजालाई राज्यले दिएको सुविधा समेत बढी भएको बताउँदै त्यो खोस्नु पर्ने धारणा राख्दै भने, ‘पूर्वराजा अब आमनागरिक भइसके, अब उनी आमनागरिकको हैसियतमा बस्नु पर्छ, पुर्वराजालाई दिएको सुविधा कटौती गर्नुपर्छ भन्ने तर्फ म सरकारको ध्यानाकर्षण गराउँछु’,।

पार्टी सरकामा रहेकै बेला केही शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्र माथि धावा बोल्न खोजेकाले एमाले सडकमा उत्रिनु परेको स्पष्ट पारे । राजावादीको नाममा हिंसात्मक गतिविधि गर्ने मानिसहरूलाई पनि सचेत हुन उनले चेतावनी दिए ।