
काठमाडौं, २५ चैत। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ पुस्ता परम्परागत कृषिमा जोडिन नचाहँदा विदेश पलायनको दर बढेको बताएका छन् ।
सोमबार युवा साहित्यिक सम्मेलन २०२५ छनोट चरण अन्तर्गत खुल्ला वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जसले सबैभन्दा बढी रोजगारी दिन्थ्यो त्यही क्षेत्रमा नयाँ पढेलेखेको युवाको ध्यान नजाँदा अहिलेको अवस्था सिर्जना भएको बताएका हुन् ।
‘नयाँ पुस्ता परम्परागत कृषिमा संलग्न हुन चाहेन, जसले सबैभन्दा धेरै रोजगारी दिन्थ्यो, त्यो रोजगारीबाट युवाहरू अलग्गिए, आज समाजमा जुन प्रकारको मानव शक्ति व्यवस्थापनको चुनौती उत्पादन भएको छ, त्यसको कारण भनेको शिक्षित युवा कृषिबाट विमुख हुनुको परिणाम हो’, उनले भने । मुलुकको जे विशेषता छ त्यो भन्दा बाहिर गएर रोजगारी सिर्जना गर्न नसकिने उनको भनाइ छ ।
परम्परागत कृषि प्रणालीलाई रूपान्तरण गरी व्यावसायिक कृषि प्रणाली विकास गरेर देशमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । अहिले सबैभन्दा धेरै काम गर्ने क्षमता भएको युवा समूह भएको देश नेपाल भएकोले यो नेपालको लागि ठुलो अवसर भएको उनले बताए । तर काम गर्न सक्ने उमेरका युवा देशमा नबसेर विदेशमा जाने कुरा विडम्बनापूर्ण भएको भन्दै उनले भने, ‘देश कसरी बन्दछ, र कसरी बनाउने भन्ने अबको हाम्रो छलफलको विषय बन्ने गर्नुपर्दछ’,।
युरोप, अमेरिका र अरबमा भएको विकासलाई हेरेर नेपालमा रातारात त्यस्तो विकास खोज्ने र नपाउँदा युवा निराश हुने गरेका उनको भनाइ छ । नेपालमा राजनीतिक अस्थिरता हुँदा राजनीतिक दलहरूले काम गर्ने अवसर नै नपाएको कारण देश सोचे जस्तो विकासको गतिमा अघि नबढेको बताउँदै उनले नेपालका राजनीतिक दलले केही गरेनन् भनि निर्माण गर्न खोजिएको भाष्य नै गलत भएको स्पष्ट पारे ।
नेपालका राजनीतिक दलले २०७२ सालको संविधान जारी भएपछि मात्र अलिकति काम गर्ने मौका पाएको उनले बताए । राजाको शासन राम्रो थियो भन्नेहरूले राजाको शासनकाल र गणतन्त्र आएपछि भएको विकासलाई तुलना गरेर हेर्न उनले आग्रह गरेका छन् । आज समय बदलिएको बताउँदै पोखरेलले जोसँग ज्ञान, सिप र व्यवस्थापकीय क्षमता भएको मानिस सबैभन्दा बढी धनी हुने बताए । अब धन हुने भन्दा ज्ञान, सिप र जाँगर हुने मानिस धनी हुने उनको धारणा छ ।
अभाव र संकटमा भएकाले नेपाले मेहनत गर्ने क्षमता राख्ने उनले बताए । अविकसित र अल्पविकसित मुलुकमा क्षमता भएका मानिसलाई अवसर नै अवसर भएको उनले स्मरण गराए । यति बेला राजनीतिक अस्थिरता र सामाजिक अराजकता नेपाली समाजको चुनौती भएको भन्दै जो सबैभन्दा अराजक छ, उसप्रतिको आकर्षण बढेको धारणा राखेका छन् ।








प्रतिक्रिया