
काठमाडौं, २१ चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रेस चौतारीको देशव्यापी संरचना नै एउटा ठूलो सञ्चार गृहको हैसियतमा रहेको बताएका छन् ।
प्रेस चौतारी नेपालको नवनिर्वाचित टिमलाई आज बधाइ दिंदै महासचिव पोखरेलले देशैभरीका गतिविधी संकलन गरेर प्रेस चौतारी केन्द्रले त्यस्ता गतिविधीलाई आम सञ्चार माध्यमसम्म पुर्याउने सामर्थ्य राख्ने बताउनुभएको हो ।
‘प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले एक ठाउँका समाचार अर्को ठाउँमा सजिलै पुर्याउन सक्छन्’ पोखरेलले भने ‘समाचार विष्लेषण,टिप्पणी आदि लेख्न हैसियत राख्दछन् । चौतारीको यो सामर्थ्यलाई पार्टीको हितमा प्रयोग गर्नुपर्दछ । ’ चौतारीमा छापा, विद्युतीय, न्यू मिडिया र सोसल मिडिया सञ्चालनमा राम्रो दखल भएका पत्रकारहरु भएको महासचिव पोखरेलको भनाइ छ ।
महासचिव पोखरेलले प्रेस चौतारी कार्यकर्ता उत्पादन गर्ने संगठन भन्दा पनि पार्टीका पक्षमा समाचार र बिचार उत्पादन गर्ने संगठन भएको बताउँदै पार्टी गतिविधीका समाचार,पार्टीले आम जनतामा पुर्याउने विषयहरु र पार्टीका प्रहार विरुद्ध चौतारीले संगठित रुपमा प्रतिवाद गर्नुपर्नेमा जोड दिए । ‘चौतारीका सदस्यहरुको दोहोरो भूमिका हुन्छ । चौतारीका सदस्यहरु पार्टी कार्यकर्ता पनि हुन् दोस्रो उनीहरु पत्रकार पनि हुन्’ पोखरेलले भने ‘तपाईंहरुले बढ्दा क्याडर हुँदा पत्रकारिता क्षेत्र छुट्न पनि सक्छ । बढी व्यावसायिक पत्रकार हुँदा पार्टीका विरुद्ध हुन पनि सक्छ । त्यसैले यस कुरामा विशेष ध्यान दिनुहोला । ’
प्रेस चौतारीले पार्टीको नीति र नेतृत्वलाई आम जनता समक्ष स्थापित गर्न सदा क्रियाशिल हुनुपर्ने महासचिव पोखरेलले बताएका छन् । उनले पार्टीका विरुद्ध भएका मिडिया हमला, साइवर हमलाको प्रतिवादका लागि चौतारी अग्रपंक्तीमा आउनु पर्ने उनको भनाइ छ । ‘एमालेको नेतृत्व विरुद्ध विरोधीहरुले सम्पूर्ण शक्ति परिचालन गरेका छन् । त्यसको प्रतिवादमा पार्टीको सानो हिस्सा मात्र लागेको छ । सुचना र प्रविधिलाई पार्टीको हितमा प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्नुपर्दछ । ’
आजै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि चौतारीको टिमलाई बधाइ तथा शुभकामना दिनु भएको छ । बधाइ कार्यक्रममा पार्टीको जनसंगठन समन्वयका इन्चार्ज भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, प्रेस चौतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेत लगायत उपस्थित थिए । चौतारीका अध्यक्ष गणेश पाण्डेले १० औं महाधिवेशनबाट निर्वाचित नेतृत्वले सक्रियतापूर्वक काम सुरु गरेको बताए ।








प्रतिक्रिया