
काठमाडौं, २१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरुले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर पाँचबुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाउँदै गृहमन्त्री राजीनामा समेत माग गरेका हुन् ।
राप्रपाले तीनकुने घटनासँग सम्बन्धित रहेर ध्यानाकर्षण पत्र बुझाएको हो । साथै राप्रपाले नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायतलाई राज्यविरुद्धको अपराध जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्ने प्रश्न पनि गरेको छ । त्यस्तै प्रदर्शनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने मागपनि गरिएको हो ।
त्यस्तै राप्रपाले सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन गर्न पनिमाग गरेको छ ।
चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनाका लागि तीनकुनेमा प्रदर्शन भएको थियो। त्यसक्रममा तोडफोड, आगजनी, लुटपाट भएको थियो भने दुई जनाको मृत्यु भएको थियो ।
ध्यानाकर्षणपत्र बुझाएपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले चैत्र १५ गतेको हिंसात्मक घटनालाई राज्यले एकपक्षीय रुपमा प्रचार गर्ने र राज्यको ज्यादतीलाई ढाकछोप गर्ने क्रियाकलाप बढाएको आरोप लगाए ।








प्रतिक्रिया