
हेटौंडा, १७ चैत । मकवानपुरको बागमती गाउँपालिकामा ‘मदन–आश्रित स्मृति कप २०८१’ फुटबल प्रतियोगिता हुने भएको छ ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल बागमती गाउँपालिका कमिटीको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताबारे आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक युवा संघ बागमतीले प्रतियोगिता यही चैत २० गतेबाट २५ गतेसम्म आयोजना हुने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय युवा संघ बागमती गाउँपालिका अध्यक्ष अशोक ग्यालनले प्रतियोगिताको विजेतालाई नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने र उपविजेतालाई नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइने बताए । स्थानीय खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उदेश्यले सुरु गर्न लागिएको प्रतियोगितामा गाउँपालिकाको ९ वटै वडाको टिमहरु सहभागी हुने उनले बताए । आयोजकले टिम इन्ट्री शुल्क पाँच रुपैयाँ मात्र राखेको उनको भनाई छ ।
बागमतीमा गाउँपालिकाले गोल्डकप गर्ने गरेतापनि त्यसले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न नसकेपछि आफूहरुले मदन–आश्रित स्मृति कप फुटबलको आयोजना गर्न लागेको आयोजकले बताएको छ ।
प्रतियोगिता फापरबारीमा रहेको जनता माविको खेलमैदानमा हुने आयोजकको भनाई छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार, विधागत उत्कृष्ट खेलाडीलाई नगद २ हजार तथा प्रत्यक म्यान अफ द म्याचलाई नगद पाँच सय रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।









प्रतिक्रिया