९ असार २०८३, मंगलबार

पत्रकार सुरेश रजकका हत्यारालाई कारबाहीको माग गर्दै रामेछापमा धर्ना

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । पत्रकार सुरेश रजकका हत्यालाई कारबाहीको माग गर्दै रामेछापका पत्रकारहरू धर्नामा बसेका छन् ।

शुक्रबार राजावादीहरूले गरेको प्रदर्शनको फोटो खिच्ने क्रममा काठमाडौंको तीनकुनेस्थित एउटा घरमा थुनेर आगो लगाई हत्या गरिएका पत्रकार रजकका हत्यारालाई कारबाहीको माग गर्दै पत्रकारहरूले मन्थली बजारको देवकोटा चोकमा शनिबार एक घण्टा धर्ना दिएका हुन् ।

आफूले चलाउने उपकरणसहित धर्नामा उत्रिएका पत्रकारहरूले पत्रकार र सञ्चारगृहमाथि भएको आक्रमणको निन्दा गरेका थिए । एउटा मानिसलाई ज्यूँदै जलाउने कुरा कुनै पनि मानिसले कल्पना पनि गर्न नसक्ने कुरा भएको धर्नामा बसेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकले बताए । ‘यो जति निन्दा गरे पनि अमानवीय घटनाको पराकाष्ठा हो, घटनामा संलग्न र सो घटना गराउन उक्साउने दुवैलाई कारबाहीको दायरमा ल्याउन पर्दछ’, उनले भने ।

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेले घटनामा संलग्नलाई कारबाही, क्षति पुगेको सञ्चारमाध्यमलाई क्षतिपूर्ति नदिँदासम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए । हिजोको घटना कुनै पनि मानव समुदायले पचाउन नसक्ने घटना भएको उनको भनाई छ ।

धर्नामा बसेका नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरेले राजाको शासनकालमा प्रकारले हिजो पनि यस्तो घटना बेहोरेको बताउँदै आज फेरि राजावादीको नाममा पत्रकारमाथिको आक्रमण सुरु भएको बताए ।

महासंघका पूर्व जिल्ला अध्यक्ष हिमाल ढुङ्गेलले निरंकुशहरुको चरित्र यस्तो हुने बताउँदै यो लोकतन्त्रका पक्षधर कसैले पनि गर्न नसक्ने व्यवहार भएको बताए ।

जिल्लामा क्रियाशील पत्रकारहरूले आयोजना गरेको धर्ना कार्यक्रममा नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्की, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य रत्नप्रसाद कँडेल, गैसस महासंघका केन्द्रीय सदस्य थिरबहादुर थापा रविन लगायतले ऐक्यबद्धता जनाएका थिए ।