
काठमाडौं, १६ चैत । सत्तारुढ दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हिजो शुक्रबार विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरुको कार्यक्रममाभन्दा धेरै जनताको सहभागीता रहेको बताएका छन् ।
महासचिव पोखरेलले समाजवादी मोर्चाको प्रदर्शन शान्तिपूर्ण, मर्यादित र सन्देशमूलक रहेको तर राजावादीहरुको प्रदर्शन भने हिंसात्मक, प्रतिशोधात्मक र अराजक भएको बताएका हुन् ।

‘हिजो एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरुको कार्यक्रममा भन्दा धेरै जनताको सहभागीता रह्यो । कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो । राजावादीहरुको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रह्यो ।’ शनिबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भने, ‘व्यवस्थाको विकल्प दिन्छौँ भन्नेहरु आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देस दिन सक्नु पर्दछ । त्यसमा राजावादीहरु पूर्णतः असफल भए । बरुउल्टै उनीहरुका क्रियाकलापले राजतन्त्रको निरंकुशता र दमन वेहोर्न नपरेको नयाँ पुस्तालाई त्यस बारेमा थोरैभए पनि बुझ्ने मौका मिल्यो ।’ पोखरेलका अनुसार राजावादीहरुको हिंसात्मक क्रियाकलापले राजतन्त्रको निरंकुशता र दमनबारे नयाँ पुस्ताले बुझ्नेका छन् ।
हिंसात्मक प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका छन् भने अन्य केही घाइते भएका छन् । महासचिव पोखरेलले मृतकहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन् ।

‘सुरक्षा निकायको संयमताले राजावादीहरुको असलियत उदांगिएको छ । आन्दोलनका नाममा नियोजित रुपमा परिचालित अपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटवाट पीडित भएकाहरुलाई राज्यका तर्फबाट यथोचित सम्बोधन आवश्यक छ ।’ महासचिव पोखरेलले भने ।
महासचिव पोखरेलले हिंसात्मक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिनेहरु सबैलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।
महासचिव पोखरेलले आजको युग जनचेतनाले सुसज्जित लोकतन्त्रको युग भएको उल्लेख गर्दै कसैको निहित स्वार्थ, प्रतिशोध वा दुराशयबाट नेपाली समाज प्रभावित नहुने सन्देश पुनः प्रस्तुत गर्नुपर्ने आवश्यकता रहेको बताए ।









प्रतिक्रिया