१ श्रावण २०८३, शुक्रबार

पीएम कप : पुलिसको अपराजित यात्रामा ब्रेक, मधेशले बागमतीलाई हरायो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, १४ चैत । त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबको प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा तोडेको छ ।

बिहीबार रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको विभागीय डर्बी खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गर्‍यो ।

पुलिस अघिल्लो संस्करणमा १० खेल जितेको थियो भने, यस संस्करणमा लगातार ८ खेलमा जित हात पारेको थियो । सन् २०२२ मा भएको पीएम कपको सेमिफाइनलमा आर्मीसँग २ विकेटको रोमाञ्चक हार पछि पुलिस अपराजित थियो ।

पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । आर्मीको जितमा विवेककुमार यादवले अविजित रहँदै सर्वाधिक ४१ रन जोडे ।

यस्तै, तृतराज दासले २५, भीम सार्कीले २३, सन्तोष कार्कीले २२ र विनोद भण्डारीले अविजित १३ रन जोडे ।

पुलिसका लागि ललितनारायण राजवंशीले ४ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले आर्मीका स्पिनरहरु चम्कँदा ४१.४ ओभरमा १ सय ४८ रनमा अलआउट भएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले विष्फोटक अर्धशतकीय इनिङ खेले पनि अन्य ब्याटर चल्न नसक्दा कम योगफलमा नै समेटिएको थियो ।

कप्तान ऐरीले ३७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन जोडेका थिए ।

यस्तै, आरिफ शेखले २२, गुल्शन झाले १७, सागर ढकालले १६ तथा अर्जुन साउदले १३ रन बनाए ।

पुलिसको ब्याटिङ धराशाही बनाउँन आर्मीका लागि १० नै विकेट स्पिनरले लिएका थिए । शाहब आलमले १० ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए । शाहबले पिएम कपको इतिहासमा १ सय विकेट पूरा गरेका छन् । उनी अगाडि पुलिसका ललितनारायण राजवंशीले १ सय विकेट पूरा गरेका थिए । शाहबले ४७ इनिङमा १ सय विकेट पूरा गरेका हुन् ।

यस्तै, आर्मीका नरेन साउदले ३ तथा भीम सार्की र कुशल मल्लले समान १–१ विकेट लिए । शनिबार हुने पीएम कपको फाइनलमा स्थान पक्का गरिसकेका पुलिस र आर्मीको यस खेलबाट लिग चरणको शीर्ष र दोस्रो हुने टोली टुंगो लागेको छ । जितसँगै समान अंक भए पनि आर्मी हेड टु हेडमा अघि रहेर शीर्ष स्थानमा छ । भने पराजित पुलिस दोस्रो भएको छ । अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले तेस्रो स्थान पक्का गरेको छ ।

यस्तै, भैरहवास्थित सिद्धार्थ क्रिके मैदानमा भएको अर्को खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।

जितका लागि पाएको २६० रनको लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । मधेशको जितमा अनिलकुमार साहले ७०, रोहन विकल ३९, हरिशंकर साहले ३३ र पवन सर्राफले ३१ रन बनाए ।

बलिङमा बागमतीका सूर्य तामाङले २ तथा इशान पाण्डे, रिजन ढकाल, गौतम केसी र विपिन आचार्यले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ८ विकेट गुमाउँदै इशान पाण्डेको शतकका मद्दतमा २५९ रन बनाएको थियो । इशानले ११४ रन बनाउँदा रिजन ढकाल र विवेक मगरले समान ३०–३० रन बनाए ।

बलिङमा मधेशका हरिशंकर साह, पवन सर्राफ र अनिलकुमार साहले २–२ विकेट लिए । ४–४ खेल जितेर समान ८ अंक जोडेका यी दुईटीममध्ये बागमती अंक तालिकाको ४ र मधेश सातौं स्थानमा छ ।