
काठमाडौं, १३ चैत । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि एसईई अफर–२०८१ उपलब्ध गराउने भएको छ ।
टेलिकमका अनुसार कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरूलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । एसईई अफर तथा बोनस अन रिचार्ज चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुनेछ । यो सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट उपलब्ध हुने टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार सिमकार्ड एक्टिभ गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुनेछन् । नयाँ सिम पाएका परीक्षार्थीले सिमकार्डमा आएको मेन व्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । साथै, ३० दिनसम्म दैनिक टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन नेट भ्वाइस सेवा, १० वटा अननेट एसएमएस र ५०० एमबी डाटा समेत पाउनेछन् ।
नयाँ सिमका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी सहित फाराम भर्नुपर्नेछ ।
बोनस अन रिचार्जमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न र ५० वटा अन नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ ।















प्रतिक्रिया