२१ जेष्ठ २०८३, बिहिबार

रौतहटमा बेमौसमी असिनापानी : कृषिबालीमा क्षति, घोगा लागेको मकै सखाप (तस्वीरहरुसहित)

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ९ चैत । रौतहटमा बेमौसमी वर्षा र असिनाका कारण अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेको छ । चन्द्रपुरसहित उत्तरी भेगमा शनिबार बिहान करिब २ बजेतिर आएको असिनापानीले मकै बालीमा बढी क्षति पुगेको हो ।

चन्द्रपुर नगरपालिका वाड नं. ८ का कृषक शिव तिमल्सिनाका अनुसार घोगा लागेको हरियो अवस्थाको मकै खेती असिनाले सखाप पारेको हो । अबको एक/दुई महिनापछि घरमा भित्र्याउने बेला हुने विकासे मकै असिनापानीले नष्ट पारेको उनको गुनासो छ । मकै खेती गर्दा बिरुवा छँदा गोवारो रोगले दुःख दिने गरेको गुनासो गर्दै उनले बल्ल–बल्ल हुर्काए पनि सुगा र असिनापानीबाट जोगाउन नसकिएको बताए ।

सुगाबाट बचाउन सकिए पनि प्रकृतिबाट बचाउन नसकिने उनले बताए । तिमल्सिनाको जस्तै रौतहटका विभिन्न स्थानमा असिनापानीले मकैबाली नष्ट गरेको छ । वृदावन नगरपालिकाको विभिन्न गाउँमा गरिएको हिउँदे बालीमा असिनापानीले क्षती गरेको स्थानीय कृषकहरुले बताएका छन् ।

असिनाले गहुँ, मुसुरो, तेलहन, दलहन, आप, लिची, कटहर जस्ता बालीमा बढी क्षति गरेको कृषकहरुको भनाइ छ । आप र लिचीको मजुर फुल अर्थात बतिला (स–साना अवस्था) असिना पानीका कारण झरेर क्षती पुगेको उनीहरु बताउँछन् ।

कृषि ज्ञान केन्द्र गौरले मकैसहित अन्य बालीमा रोग, किरा तथा प्राकृतिक विपत्तीबाट हुँदै आएको क्षतिलाई नियन्त्रण गर्न बिमा गर्नुपर्ने सुझाव दिएको छ ।

असिनापानीले खपडा, फुस, टाली घर पनि क्षती पुगेको स्थानीयले बताएका छन् । हिउँदे वर्षा र असिनाका कारण ईट्टामा पनि क्षति पुगेको व्यवसायीहरु बताउँछन् । असिना पानीले गरेको क्षतीका बारेमा तिनै तहको सरकारले ध्यान दिनुपर्ने कृषकहरुको माग छ ।