२० जेष्ठ २०८३, बुधबार

इलामको रोङमा १२१ जनालाई ‘गुरु किसान’को जिम्मेवारी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ८ चैत । रोङ गाउँपालिकाले ‘गुरु किसान’ घोषणा गरिएको छ । गाउँपालिकाले एक समारोहका बीच ‘गुरु किसान’ घोषणा गरेको हो ।

गाउँपालिका भित्रका करिव पाँच हजार किसानहरुबाट अगुवा किसान छनोट गरिएको छ । छनोट भएका किसानलाई ‘गुरु किसान’ घोषणा गरिएको हो ।

बुधबार गाउँपालिका ५ मा स्थापना भएको कृषि प्रशोधन उद्योगको उद्घाटनसँगै छनोट भएका एक सय २१ गुरु किसानलाई गाउँपालिकाले मागमा आधारित सेवाटेवा प्रधान गर्ने घोषणा गरिएको छ । गाउँपालिका भित्र रहेका करिब चार हजार पाँच सय किसान मध्ये पहिलो चरणमा एक सय २१ किसान छनोट गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारी, तथा कोशी प्रदेश उद्योग कृषि तथा सहकारी विकासमन्त्री खगेनसिं लिम्बू र गाउँपालिका अध्यक्षले गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको उद्घाटन गरेका हुन् ।

कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न र उत्पादनमा प्रतिस्पर्धा गराउन गुरु किसान छनौट पालिकाले जनाएको छ । गुरु किसान परिचय पत्र वितरण समेत गरिएको छ । थोरै क्षेत्रफलमा धेरै उत्पादन गर्ने किसानलाई गुरु किसानका रुपमा छनौट गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका भित्रका ६ वटै वडाका किसान छनोट गरेर वडास्तरीय अभिमुखीकरण समेत प्रदान गरिएको छ । पालिका छनौट भएका ‘गुरु किसान’ले गाउँमा आइपरेका कृषिका समस्या समाधान गर्न समेत भूमिका खेल्ने पालिकाको कृषि सेवा शाखाले जनाएको छ ।

पहिलो चरणमा एक सय २१ जना किसानलाई गुरु किसान छनोट गरिएको छ । क्रमश गुरु कृषक थप गर्दै लैजाने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्बो (सुवास)ले जानकारी दिए । उनका अनुसार गुरु किसान ब्यवस्थापन कार्यविधि २०८० जारी भएको छ । सोही अनुरुप कार्यक्रम अगाडी बढाइएको हो । गाउँपालिकाका कम्तीमा तीन सय गुरु किसान प्रवद्र्धन गर्ने लक्ष रहेको जनाइएको छ ।

‘उत्पादन, प्रशोधन र बजारको तीन खम्बे रणनिति लिइएको छ ।’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भने । प्रशोधनमा नीजि क्षेत्रलाई प्रवद्धन गर्ने लक्ष लिइएको छ । संघीय सरकारअन्तर्गत योजना आयोगको पाँच करोड विशेष अनुदानबाट तीनवटा उद्योग स्थापना गर्न लागिएको छ । सबैभन्दा पहिला स्थापना भएको कृषि प्रशोधन उद्योगको पनि उद्घाटन गरिएको छ । अन्य दुईवटा उद्योग निर्माणाधिन अवस्थामा रहेका छन् ।

संघीय सरकारको अनुदानबाट करिब ७० लाख लागतमा कृषि प्रशोधन उद्योगको भवन निर्माण गरिएको छ । त्यस्तै, करिब ४० लाख लागतमा औजार खरिद गरिएको गाउँपालिकाका लेखा अधिकृत मनिष भट्टराईले जानकारी दिए । यहाँका ब्यवसायिक र निश्चित मापदण्ड पुरा गर्ने किसानहरुबाट गुरु किसान छनोट गरिएको हो ।

कृषि पेसाबाट किसान पलायन हुन नदिन यो कार्यक्रम ल्याइएको हो । गाउँपालिकामा विशेष गरेर अलैँची, चिया, कफी, अदुवा, सुपारी, बेसार, सुन्तला उत्पादन हुन्छ । गाउँपालिकाले रोङ गुन्द्रुक, रोङ मह, रोङ बेसार, रोङ तिते करेला ब्राण्डिङ गरेर बजारीकरण गरिरहेको छ ।

त्यस्तै, गाउँपालिकाले सिस्नोको चिया समेत उत्पादन गर्दै आएको छ ।