२ श्रावण २०८३, शनिबार

गणतन्त्रको पक्षमा देशैभर जनप्रदर्शन गर्ने एमालेको घोषणा, यस्तो छ कार्यक्रम

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ७ चैत । नेकपा (एमाले)ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसचेतनाका लागि देशव्यापी जनप्रदर्शन गर्ने घोषणा गरेको छ । मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनसचेतना अभियान घोषणा गरेको हो ।

तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो । कार्यक्रमअन्तर्गत चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा बृहत मोटरसाइकल र्‍याली आयोजना गरिनेछ ।

एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्नेछ भने चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका छ वटै प्रदेशका शहरहरू– धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने बताइएको छ । प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइनेछ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिनेछ ।

आज महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिए ।

एमाले केन्द्रीय सचिवालयको यही चैत ४ गते बसेको ४६औं बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गरी पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको थियो ।

महासचिव पोखरेलले जनचेतना अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिए ।

महासचिव पोखरेलले पञ्चायतकालीन र लोकतन्त्रको अवधिमा भएका आर्थिक र सामाजिक विकासका साथै जनताको जीवनस्तरमा आएको व्यापक परिवर्तन सम्बन्धमा तथ्यगत विवरण समेत जानकारी गराएका थिए ।

महासचिव पोखरेलले पञ्चायतको अन्त्यपछि कुल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, निरपेक्ष गरिबी दर, सडक सञ्जाल विस्तार, जनतालाई आधारभूत पिउने पानीको उपलब्धता, सञ्चार सुविधा, विद्युत उत्पादन तथा उपभोग, नेपालीको औसत आयु वृद्धि, शिशु मृत्युदरमा न्यूनीकरण लगायतका महत्वपूर्ण सूचकहरूमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।

यस्तो छ एमालेको जनप्रदर्शनको कार्यक्रम :

१) प्रतिगामी कुप्रयासका विरूद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने ।

२) संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने ।

३) चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने । जागरण सभा नहुने जिल्लाका हकमा बृहत मोटरसाइकल र्‍याली गर्ने ।

४) चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने । काठमाडौं उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने ।