११ श्रावण २०८३, सोमबार

ट्रम्पसँग सम्झौता गर्दा युरोपमा गठबन्धन खोज्दै क्यानाडाका प्रधानमन्त्री कार्नी

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको सार्वभौमिकता र अर्थतन्त्रमाथि गरेको आक्रमणको सामना गर्दै मित्रताको खोजी गर्न क्यानाडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नी सोमबार पेरिस र लन्डन जाँदै छन् । क्यानाडाको प्रारम्भिक अस्तित्वलाई आकार दिने दुई देशको राजधानी सहरहरूमा कार्नीले जानाजानी आफ्नो पहिलो विदेश भ्रमण गर्न लागेका हुन् ।

शुक्रबार आफ्नो शपथ ग्रहण समारोहमा कार्नीले फ्रान्सेली, अङ्ग्रेजी र आदिवासी गरी तीन जनताको आधारशिलामा देश निर्माण भएको उल्लेख गर्दै क्यानाडा अमेरिकाभन्दा मौलिक रूपमा भिन्न रहेको र ‘कुनै पनि आकार वा रूपमा कहिल्यै पनि संयुक्त राज्यको हिस्सा हुनेछैन’ भने ।

“ट्रम्प फ्याक्टर नै यस यात्राको कारण हो । ट्रम्प फ्याक्टरले कार्नीले सामना गर्नुपर्ने अरू सबै कुरामा प्रभुत्व जमाउँछ”, टोरन्टो विश्वविद्यालयका प्राध्यापक इमेरिटस नेल्सन वाइजम्यानले भने ।

उन्साठ्ठी वर्षीय पूर्व केन्द्रीय बैंकरले सोमबार पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गर्नेछन् र त्यसपछि लन्डन जानेछन् । लन्डनमा बेलायती प्रधानमन्त्री किर स्टार्मरसँग बसेर व्यापार विविधीकरण र सम्भवतः ट्रम्पको भन्सार महसुलको प्रतिक्रियाको समन्वय गर्ने प्रयास गर्ने बताइएको छ ।

उनले बेलायती नरेश चाल्र्स तृतीयसँग पनि भेट गर्नेछन् । चाल्र्स तृतीय क्यानाडाका राज्य प्रमुख छन् । कार्नी बैंक अफ इङ्गल्यान्डका पूर्व गभर्नरसमेत रहेकाले इङ्गल्यान्डको यात्रा केही हदसम्म घर फर्किए जस्तै हो । बैंकको तीन सय वर्षभन्दा बढीको इतिहासमा यस भूमिकामा नियुक्त हुने उनी पहिलो गैर–नागरिक हुन् ।

त्यसपछि कार्नी ‘क्यानाडाको आर्कटिक सुरक्षा र सार्वभौमिकतालाई पुनः पुष्टि गर्न’ ओटावा फर्कनुअघि क्यानाडाको आर्कटिकको किनारको यात्रा गर्नेछन् । त्यहाँ उनले केही दिनभित्रै चुनाव घोषणा गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पले क्यानाडाको सार्वभौमिकताको सम्मान गरेका उनीसँग भेट्न तयार रहेको कार्नीले बताएका छन् । हाल वासिङ्टन भ्रमण गर्ने योजना नरहेको तर चाँडै राष्ट्रपतिसँग फोन वार्ता गर्ने आशा रहेको उनले बताए ।

पच्चीस प्रतिशतको व्यापक भन्सार महसुल र क्यानाडालाई ५१औँ अमेरिकी राज्य बनाउने ट्रम्पको कुराले क्यानाडालीहरूलाई क्रोधित बनाएको छ । धेरैले सकेसम्म अमेरिकी सामान किन्ने कुरालाई टार्दैछन् । कार्नीको सरकारले ट्रम्पको व्यापार युद्धको प्रकाशमा अमेरिकी निर्मित एफ–३५ लडाकू विमानको खरिदको समीक्षा गरिरहेको छ ।

ट्रम्पले आर्थिक युद्धको घोषणा नगरेसम्म र क्यानाडा ५१औँ राज्य बन्नुपर्छ भनेर बारम्बार नभनेसम्म सत्तारूढ लिबरल पार्टी यस वर्ष ऐतिहासिक चुनावी पराजयको लागि तयार देखिन्थ्यो । अब पार्टी र यसको नयाँ नेता शीर्षमा आउन सक्छन् ।

टोरन्टो विश्वविद्यालयका क्यानाडाली इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक रोबर्ट बोथवेलले कार्नीले ट्रम्पलाई भेट्न नजानु बुद्धिमानी हुने धारणा राखे ।