
काठमाडौं, २ चैत । जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित हासिल गरेको छ ।
शनिबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीले दिएको २३१ रनको लक्ष्य पछ्याएको आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
आर्मीका लागि तृतराज दासले ११२ रनको शतकीय पारी खेलेका थिए । यस पीएम कपमा बनेको यो दोस्रो शतक हो । यसअघि सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले गण्डकी प्रदेशविरुद्धको खेलमा १२१ रनको शतकीय पारी खेलेका थिए ।
त्यस्तै, आर्मीका लागि बसिर अहमदले अविजित ६१ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ४९.३ ओभरमा अल आउट हुँदै २३० रन बनाएको थियो । कोशीका लागि सुभन गहतराजले ५१ रन बनाए भने सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन बनाएका थिए ।
त्यस्तै, आर्मीका बलर सोमपाल कामीले ४ विकेट लिए भने आकस चन्द र शाहाब आलमले २–२ विकेट लिएका थिए ।
यो जितपछि आर्मीले लगातार चौथो जित हासिल गर्दै प्रतियोगितामा अपराजित रहेको छ ।
त्यस्तै, कोशी प्रदेशले भने आफ्नो लगातार चौथो हार बेहोरेको छ ।








प्रतिक्रिया