
काठमाडौं, २ चैत । एनसेल नेपाल सुपर लिग (एनएसएल) २०२५ को खेल तालिका सार्वजनिक भएको छ । चैत १६ गतेदेखि सुरु हुने यो तेस्रो सिजन प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ ।
एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात उत्कृष्ट टोलीहरू एनसेल एनएसएल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एनसेल एनएसएल २०२५ को पहिलो खेल सिजन–१ को विजेता काठमाडौं रेजर्स एफसी र सिजन–२ को विजेता ललितपुर सिटी एफसी बीचको भ्याली डर्बी रहनेछ । यो बहुप्रतीक्षित खेलले फुटबलप्रेमीहरूलाई रोमाञ्चित बनाउनेछ ।
नेपालको अग्रणी फुटबल मञ्च नेपाल स्पोट्र्स एण्ड इभेन्ट्स म्यानेजमेन्टद्वारा आयोजित र अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा सञ्चालित एनसेल एनएसएल नेपालको प्रमुख व्यावसायिक फुटबल लिग बनिसकेको छ । यो लिगले नेपाली फुटबलको स्तर उकास्ने, नयाँ प्रतिभा निखार्ने र दर्शकहरूलाई अविस्मरणीय क्षणहरू प्रदान गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।









प्रतिक्रिया